PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

महानगरका म्याडम मेयरका चुनौति



सूर्य खड्का

महानगरका म्याडम मेयरका चुनौति

  • टिप्पणी -
परीक्षा मान्ने हो भने अब चाहिँ असली परीक्षा सुरु भएको छ नेपालकै महानगरकी पहिलो म्याडम मेयर रेणु दाहालको। भरतपुरवासीको मतमा व्यक्त मनका आशा, भरोसा र विश्वासहरुहरु सम्वृद्धि र सम्पन्नताको कसीमा उतार्ने घडी अब सुरु भैसकेको छ। 

जनयुद्धका सपना, मेयरको विपना

हिंसात्मक आन्दोलनका आडबाट नेपालको सत्ता राजनीतिमा हावी भैरहेका नेपाली माओवादी आन्दोलनका शिखर नेता पुष्पकमल दाहाल उर्फ प्रचण्डका ४ छोरी र १ छोरा मध्ये रेणु दाहालले अत्याधिक बोकिन् प्रचण्ड पुत्रीको ओझ, बोझ र उपमा। ३१ वैशाखको पहिलो चरणको स्थानीय चुनावमा भरतपुर महानगरमा कांग्रेस माओवादीको चुनावी समीकरणदेखि काँग्रेसका मेयर प्रत्याशी दिनेश कोइरालाको उम्मेदवारी फिर्तासम्मका प्रकरण होस् वा मतपत्र च्यातिएकोदेखि पुनःमतदानसम्मको अवधिमा प्रचण्डभन्दा ज्यादा प्रचण्ड पुत्रीका रुपमा चर्चाको पिरामिडमा रेणु नै माथि रहिन्। विवाद, आक्रोश र विरोधीको पहिलो निशानामा पनि रेणु दाहालभन्दा बढी प्रचण्ड पुत्री रेणु परिन्।

तर भरतपुरको अन्तिम चुनावी नतिजा साउन २१ मा सकिएसँगै अब प्रचण्डपुत्रीको उपमाबाट रेणुले मुक्ति पाएकी छिन्। उनी अब नेपालकै ५ महानगर मध्ये एक भरतपुरकी पहिलो निर्वाचित महिला मेयर बनेकी छिन्। नेपालका स्थानीय सरकारको इतिहासमा उनको यो एक्लो मेयरको पहिलो यात्रा रोमान्चक र ऐतिहासिक दुबै हो।

माओवादीकै शव्दमा सिंहदरवारको अधिकार साँच्चिकै गाउँ गाउँ र शहर शहरमा पुगेको हो भने अब त्यसलाई व्यवहारिक रुपमा उदाहरणीय बनाउने स्वर्णिम अवसर र चुनौतिका सामुन्नेमा पुगेकी छिन, म्याडम मेयर रेणु दाहाल। स्वभावैले स्थानीय तह, स्थानीय जनताको सरकार हो। जनताको दैनिकीका हरेक सरोकारमा सरकार दाहिना देखिने नयाँ सरकारी मुकाम हो भने त्यसलाई शान्त र भद्र स्वाभाविकी उनले प्रमाणित गरिदिनुपर्नेछ। 

भरतपुरकी मेयरका रुपमा अब रेणुको अग्निपपरीक्षा पनि सँगै सुरु भएको छ। के उनी स्थानीय आवश्यकता, संभावना र स्रोत साधनलाई सही सदुपयोग गरेर भरतपुरलाई नमूना महानगर बनाउन सक्षम साबित होलिन्? उनलाई शुभकामना दिन सकिन्छ, तर के होला उनको कार्यकालमा भरतपुरको प्रगति अहिल्यै भन्न सकिन्न। किनकि विकास र सम्वृद्धिसँग जोडिएको स्थानीय सरकार प्रमुखकको कुर्सीमा पहिलो पटक विराजमान म्याडम मेयर रेणुसँग जनप्रतिनिधिका रुपमा काम गरेको अनुभवको कमी मात्रै छैन, विकासका कामको मेलो सुरु कसरी गर्ने भन्ने भेउ पनि कम छ। सँधै अनुभवी मात्रै आवश्यक पर्दैन नयाँ पुस्ताले पनि परिवर्तनका काम गर्न सक्छन् भन्ने नमुना उनले अब कुराले होइन, कामैले प्रमाणित गर्नुपर्नेछ।

जनयुद्धकालमा पिता प्रचण्डसँगै पूर्णकालीन कार्यकर्ताका रुपमा संर्घषको मैदानमा खटिएकी रेणुले अब अधिकारसम्पन्न स्थानीय तहको परिवर्तनको जग बनाउनु छ, जड थाहा पाउनु छ र गन्तव्य प्रष्ट गर्नु छ। जनयुद्ध किन थियो भनेर उनले मेयरको कुर्सीको कार्यकारी प्रमुखका रुपमा काम, काम र कामहरु गरेर प्रमाणित गर्न सकिन्न भने उनलाई मतदान गर्ने पार्टी समर्थकहरु मात्रै होइन, चारतारे समकर्थकहरु पनि उनीप्रति धन्य हुने छैनन्।

पदमा रहँदा प्रचण्डलाई दोस्रो कार्यकालमा भ्रष्टाचार तथा आर्थिक अनियमिमताका आरोपहरु लागेनन्। तर राज्यको ढुकुटी चितवन भरतपुरमा मात्रै खन्याएको धेरै आरोप लागे। त्यसको औचित्य प्रमाणित गर्न उनले भरतपुरमा छोरीलाई मेयर पनि बनाउन सके। आफ्नो राजनीतिक भूमि चितवनलाई बनाउन यी सबै जायज वा नाजायज हर्कत गरेका प्रचण्डले देखेको सपना र सफलता अब मेयर रेणुको पल-पलका असल कर्महरुमा नापिने छन्, जोखिने छन्। त्यसैले म्याडम मेयर रेणुको तस्वीरमा प्रचण्ड छविको परीक्षा पनि हो यो उनको नयाँ यात्रा। 

राजनीतिक सन्देशका हिसाबले, प्रयोगको कसीमा, तालमेलप्रतिको इमान्दारिताको तराजुमा यो जित प्रचण्डपुत्री रेणुको मात्रै होइन, माओवादी केन्द्रको मात्रै त झनै होइन, सिंगो भरतपुर र देशकै कांग्रेसको पनि हो। २९ वडाको भरतपुर महानगरमा अहिले पनि माओवादीका तीन थान वडाध्यक्ष बाहेक आधा आधा वडाध्यक्ष काँग्रेस, एमालेकै छन्। प्रतिपक्ष एमाले र सहयात्री कांग्रेसी वडाध्यक्षसहितका निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्ना हर योजना, कार्यक्रम र नीतिहरुमा सहमतीका साथ कुममा कुम मिलाएर सँगै हिँडाउन रेणुले जनयुद्धमा भन्दा बेग्लै तर चर्को मेहनत गर्नैपर्नेछ। आफूलाई जिताउने हर भरतपुरवासी, कांग्रेस र आफ्ना लागि सहीद भएका दिनेश कोइरालाहरुप्रति कृतज्ञ हुँदै रेणुले गर्नुपर्नेछ भरतपुरमा सबैको जय। असल नेतृत्व फरक मतहरुलाई सँगै समेटेर दिन सकिन्छ भन्ने देखाउन उनले दलीय संकीर्णताबाट माथि उठ्न सक्नैपर्नेछ।

राजनीतिक गठबन्धनको सफलता

आलोचकहरुलाई जति नै अप्रिय लागे पनि, राजनीतिक रुपमा जति नै अप्राकृतिक जस्तो देखिए पनि विपरीत धारका सत्ता गठबन्धनका साझेदार कांग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलको असली सफलताको चुरो पनि भरतपुरमा रेणुको जितसँगै जोडिएको थियो। प्रचण्डले रुखमा भोट हालेर वा कांग्रेस सभापतिका रुपमा देउवाले आफ्ना चारतारे कार्यकर्तालाई हँसिया हथौडामा भोट दिन उर्दी जारी गरेर चुनावी तालमेलप्रति देखाएको इमान्दारिता रेणुको मेयरमा भएको उदयसँगै सार्थक भएको छ।  दिनेश कोइरालालाई सहिद बनाएर सभापति देउवाले खेपेको आलोचनामा पनि यो जितले केही मल्हमपट्टी लगाएको छ। 

मुख्य विपक्षी एमाले र राप्रपा बीचका चुनावी गठबन्धन परिणामहरुमा फेल भएका र संघीय समाजवादी तथा नयाँ शक्तिका बीचका चुनावी गठबन्धनहरु निष्प्रभावी भएका चुनावी नतिजाको आलोकमा काँग्रेस माओवादी गठबन्धन अपेक्षित सार्थक नभए पनि भरतपुरको जीत लाज लुकाउने मुकुण्डो हो। यसबाट गठबन्धनलाई आगामी चुनावहरुमा निरन्तरता दिने र बिस्तारित तथा बलियो बनाउने ऊर्जा स्थानीयदेखि केन्द्रसम्मका पार्टी नेता, कार्यकर्ता र नेतृत्वमा संचारण भएको हुनुपर्छ। 

रहरले भन्दा पनि एमालेको देशव्यापी आक्रामक प्रभावको प्रतिरोधका लागि सत्तास्वार्थको परिस्थितिजन्य बाध्यात्मक विकल्पका रुपमा अभ्यास भैरहेको काँग्रेस माओवादी गठबन्धन अब पन्किदै गएमा कुनै आश्चर्य हुने छैन। काँग्रेस महामन्त्री शशांक कोइरालाले हालै भने जस्तै माओवादी काँग्रेसको आडमा चुरीफुरी गरिरहेको छ भन्ने त यो सत्योदघाटन हो, तर साथमा एमालेलाई साइजमा राख्न काँग्रेसलाई माओवादीसँग घाँटी जोडनुको विकल्प छैन भन्ने पनि एक नमूना हो यो जीत।

प्रचण्ड कर्मभूमिको रक्षा होला ?

राष्ट्रिय राजनीतिमा जति प्रभावशाली हस्तक्षेप र दबदबा छ माओवादी सुप्रिमो प्रचण्डको सोही अनुसार उनको पकड क्षेत्र कुनै देखिएको छैन अहिलेसम्म। उनी राजधानीबाट मतादेशमा हारेका हुन् भने सिराहाबाट मुश्किलले जितेका हुन्। जन्म र कर्मभूमि पनि भएका कारण उनले चितवनलाई आफ्नो राजनीतिक पकड क्षेत्र बनाउने दृश्य उदेश्यकै लागि साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गरेर छोरी रेणुलाई भरतपुरकी मेयर बनाएका हुन्। प्रधानमन्त्री कालमा विकास बजेट उतै मात्रै एकोहोरयाएका हुन, खन्याएका हुन्।

प्रचण्डले आफ्नो सुरक्षित राजनीतिक भूमि बनाउन चाहेको चितवन कांग्रेसको गढ हो भने एमालेको पनि बलियो प्रभाव क्षेत्र हो। प्रचण्डको चुनावी मैदान क्षेत्रको खड्गो टार्न एक निमित्त पात्रका रुपमा उदाएकी रेणुका कामहरुको परिणामले नै प्रचण्ड सपनाको निर्क्यौल गर्नेछ। यस आधारमा मेयर म्याडम रेणु प्रचण्ड भाग्योदयकी आशाकी धरोहर पनि हुन्। कांग्रेसले आफ्नो ऐतिहासिक प्रभाव क्षेत्रमा प्रचण्डको प्रभाव विस्तारका लागि गरेको बलिदान प्रचण्डले पनि जोगाउन नसक्ने, कांग्रेसको हातबाट पनि फुत्कने स्थिति भएमा त्यसको लाभ एमालेलाई पुग्ने मात्रै छैन, यो गठबन्धनलाई दुखद क्षति र ग्लानीको सबक हुनेछ।

आफै नेता तर पकड क्षेत्र बिनाको बनेका प्रचण्डलाई स्थापित गराउने रणनीतिक स्वार्थ पूर्तिका लागि पनि रेणुले जनतामा वाहवाही पाउने असीमित कामहरु सम्पन्न गर्ने काविल म्याडम मेयरको इतिहास लेखाउनु छ। भरतपुरवासीले मतमार्फत् दिएको मनको विश्वासका जगमा उनले अब आफ्नो, पिताको र भरतपुरको भाग्य लेख्नु नै छ। लेख्छिन् कस्तो त्यो भने भविष्यले नै देखाउने छ। अग्रज पत्रकार टीकाराम राईकै शव्दमा अब प्रचण्डपुत्री भनेर रेणुलाई उपमा दिन जरुरी रहेन, न त प्रचण्डको रिसमा उनी आलोचनाको अचानोमा पर्नुपर्नेछ। तर काम गर्न नसके फेरि पनि उनैले हो आलोचनाको तरवारमा सेरिनुपर्ने। 

राजनीतिक हर्कतको नग्नता

अग्रज पत्रकार नारायण वाग्लेले भरतपुरमा रेणु दाहाल निर्वाचित भएपछि सामाजिक संजालमा व्यंग्य मिश्रित प्रतिक्रियामा लेखे, चुनाव यसरी पनि जितिँदो रहेछ भन्ने माओवादी केन्द्रले प्रमाणित गर्‍यो। चुनावी जीतका लागि भएका सारा झेल्लीहरुप्रति उनको कटाक्ष अप्रासंगिक किन थिएन भने चुनावी तिकडममा जायज नाजायज सबै कर्तुतहरुको खुल्ला तमासा त्यही भरतपुर प्रकरणमा भएको थियो, मध्य वैशाखदेखि मध्य साउनसम्म।

राजनीतिक प्रतिष्ठाका लागि दलीय कार्यकर्ता कति हदसम्म अराजक र उच्छृंखल हुन सक्छन भन्ने उदाहरण पनि रह्यो त्यो। किनभने त्यहाँ माओवादी केन्द्रका कार्यकत्र्ताहरुले नै मतपत्र च्यातेको स्पष्ट हुँदा पनि उनीहरु कारवाहीमा परेनन्। 

सरकार प्रमुखमा प्रचण्ड बहाल रहँदा नै प्रहरी थुनाबाट पनि उनीहरु धरौटीमा छुटे। संयोग नै हो कि प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विराजमान भएकै बेला मतपत्र च्यातेको अभियोगमा माओवादीका कार्यकर्ता पक्राउ परे अनि धरौटीमा छुटेर दोसल्लासहित सम्मानित पनि भए। त्यो माओवादीको लोकतन्त्र, आवधिक निर्वाचन र त्यसका प्रक्रियाहरुमा उसको समर्पण र समर्थन नाप्ने एक कडी हो भने माओवादीप्रति उठेको आशंकाको ठूलो पहाड पनि हो। मतपत्र च्यात्नेहरु नै दोसल्लाबाट सम्मानित हुने त्यो गलत नजिर नै हो।

सत्ता स्वार्थ वा सहकार्यका कारण अझ भनौं चुनावी तालमेलका कारण कांग्रेस र माओवादीका स्थानीय कमिटीहरुदेखि स्थानीय कार्यकर्ताहरु सत्यतिर भन्दा स्वार्थतिर एकमत र गोलबन्द भएको अराजनीतिक गठबन्धनको पनि राम्रै उदारहण थियो त्यो भरतपुर प्रकरण। किनभने भएको के हो भन्नेतिर तथ्यमा होइन, कसको स्वार्थ केमा भन्नेमा नै भरतपुरको राजनीति विभक्त भैरहयो त्यो १४ जेठको मध्यरातदेखि साउन २१ को लगभग मध्यरातसम्म। 

सत्ताले चाहे अराजकता र विकृतिलाई संरक्षण गर्छ र आपराधिक हर्कत पनि राजनीतिमा स्वीकृत हुन्छ भन्ने दलीय संकीर्णताको विरुप प्रर्दशन पनि थियो त्यो प्रकरण।

भनिन्छ, ढिलो न्याय दिनु न्याय नदिनु सरह हो। न्यायिक ढिलाईमा लोकतान्त्रिक अभ्यासको क्रममा लागेको व्रेकमा अदालत झन कति धेरै सुस्त बन्यो वा बन्दोरहेछ भन्ने अर्को मानक नमुना पनि रहयो त्यही भरतपुर प्रकरण। अदालतले चाहेको भए साता दश दिनमा वा बढीमा महिना दिनमा दूधको दूध पानीको पानी बनाउन सक्ने यो मुद्धा अदालतले तिनै प्रक्रियाहरुमा उल्झेर तन्काइरह्यो, जसका कारण अदालतमा ढिला सुस्ती गर्न सकिन्थ्यो।

जे होस ढिलै पाए, भरतपुरवासीले आफ्नो मतसंग साटेका जनप्रतिनिधि पाए। यस अर्थमा सबै भरतपुरवासीहरु भएका छन, बधाईका हकदार।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell