
श्रीलंकालाई उसैको भूमिमा एक इनिङ्स र ५३ रनले पराजित गर्दै भारतले ३ खेलको टेष्ट सिरिज आफ्नो पक्षमा पारेको छ।
रविन्द्र जडेजाले ५ विकेट लिदै श्रीलंकालाई दोस्रो इनिङ्समा ३८६ रनमा अलआउट गरेपछि भारतले दोस्रो टेष्ट एक दिन अगावै जितेको हो।
श्रीलंकाले पहिलो इनिङ्समा १८३ रन मात्र बनाउन सकेपछि भारतले फलो अन दिएको थियो। फलोअन जोगाउन मात्रैपनि श्रीलंकाले भारत विरुद्ध ४३९ रन बनाउनुपर्ने थियो। तर ओपनर दिमुथ करुणारत्ने र कुशल मेण्डिसले शतक बनाएपनि भारतिय बलरले उत्कृष्ट प्रदर्शन गर्दै विकेट झारेपछि श्रीलंका इनिङ्स अन्तरको हार बेहोर्न बाध्य भयो।
श्रीलंकाका लागि करुणारत्नेले १४१ र मेण्डिसले ११० रन बनाएपनि अन्य खेलाडीले गतिलो साथ दिन सकेनन्। कप्तान एन्जेलो म्याथ्युजले ३६ तथा विकेटकिपर निरोसान डिकवेलाल ३१ रन बनाए। भारतलाई शानदार जित दिलाउन जडेजाले ५ तथा रविचन्द्रन आश्विन र हार्दि पाणओड्याले २-२ विकेट लिए।
कोलोम्बोमा टस जितेर पहिले ब्या६ङ गरेको भारतले चेतेश्वर पुजारा र अजिन्का रहानेको शतक मद्दतमा पहिलो इनिङ्समा ९ विकेट गुमाएर ६२२ रन बनाउँदै डिक्लेयर गरेको थियो।
भारतलाई दोस्रो टेष्ट जिताउन भूमिका खेलेका जडेजा पल्लेकेमा हुने तेस्रो टेष्टका लागि भने खेल्न नपाउने भएका छन्। ६ खराब अंक पाएपछि जडेजा तेस्रो टेष्टमा प्रतिवन्धमा परेका हुन्।