PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा :  भूइँको टिप्दा पोल्टाकै पोखियो 



रमेश वाग्ले

राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा :  भूइँको टिप्दा पोल्टाकै पोखियो 

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता एकीकरणको आठ महिनामै टुटेको छ। गएको मंसिर १ गते पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपाल एक भएर राप्रपा बनेको थियो। त्यसको आठ महिना १६ दिनमा पार्टी पुनः फुटेर दुई टुक्रा भएको हो। 

आइतबार पशुपतिशमशेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन भएको छ। निर्वाचन आयोगमा पशुपतिशमशेरले दर्ता गरेको पार्टीले आधिकारिकता पाएमा कमल थापालाई भने भूइँको टिप्दा पोल्टाको पोखिएको अवस्था हात लाग्ने छ। 

संसदमा २५ सांसद्सहित चौथो शक्तिमा रहेको राप्रपा नेपालका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाले राप्रपासँगको एकीकरणपछि १२ सांसद् थपेर ३७ सिटको चौथो शक्तिको अध्यक्ष र संसदीय दलको नेता बन्ने मौका जम्मा आठ महिना १६ दिनका लागि मात्र पाए। 

निर्वाचन आयोगमा राणा समूहले दर्ता गरेको नामावली अनुसार १९ सांसद् देखिएकाले अब उनीसँग १८ सांसद् मात्र बाँकी बचेका छन्। राणा समूहको दावीलाई मान्ने हो भने हस्ताक्षर २२ सांसद्को छ तर सनाखतमा १९ को हस्ताक्षर भएको हो। 

पशुपतिशमशेरको राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगबाट मान्यता पाएमा कमल थापा अब संसदमा छैटौँ हैसियतमा हुने छन्। 

पशुपति शमशेरले भने एकता र फूटको राजनीतिबाट नाफाको व्यापार गरेका छन्। संसद्मा १२ सिटसहित सातौँ हैसियतमा रहेका उनले एकीकरण गरेर १९ सिट फिर्ता गरेका छन्। अब उनको पार्टीको हैसियत संसद्मा पाँचौ हुनेछ। यद्यपि केन्द्रीय सदस्य किरण गिरीले भने राप्रपा प्रजातान्त्रिकसँग २२ संसद रहेको दावी गरेका छन्।

राजपालाई फाइदा

राप्रपाको फूटको फाइदा भने गत बैशाखमा एकीकृत भएको राष्ट्रिय जनता पार्टीलाई भएको छ। एकतापछि पाँचौ शक्तिका रुपमा स्थापित भएको राजपा राप्रपा विभाजनकै कारण चौथो शक्तिका रुपमा स्थापित भएको छ।

फूट श्रृंखला १८औं 

राप्रपा फूटको श्रृंखलामा यो १८औं फूट हो। बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४६ सालमा एउटै विचार र सिद्धान्त लिएर स्थापित हुन लागेको राप्रपा व्यक्तिगत टकरावका कारण सूर्यबहादुर थापा नेतृत्वमा राप्रपा थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा चन्द्रका रुपमा स्थापित भएका थिए। 

तिनै दुई पार्टी एकीकरण भएर निर्वाचनमा जाँदा २०५१ सालमा सबैभन्दा बढी प्रतिशत अर्थात् २०५ सिट रहेको संसदमा १९ सिट ल्याउन सफल भएको थियो। त्यसयता राप्रपा त्यति शक्तिशाली कहिले भएको छैन। पछिल्लो मंसिर ६ को एकीकरणपछि राप्रपामा त्यही समयमा धेरै सिट ल्याएको निर्वाचन चिह्न 'हलो' मै अड्किएको थियो। 

त्यही असन्तुष्टिलाई लिएर वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा राष्ट्रवादी खोलिसकेका छन्। त्यसयता कमल थापाले पार्टी एकलौटी हाँक्न खोजेको तथा पार्टीलाई प्राइभेट लिमिटेड शैलीमा संचालन गरेको भन्दै विरोध सतहमा आएको थियो। 

यसअघिको केन्द्रीय समिति बैठक वरिष्ठ नेता पशुपतिशमशेर राणाले बहिस्कार गरे। तर असन्तुष्टि बाहिर नआओस् र कमल थापाले थप बलियो भएको महसुस गरुन भनेर राणा पक्षका सबै केन्द्रीय सदस्य बैठकमा सहभागी भए। 

फूटको ऊर्जा

नेपालको राजावादी शक्तिका रुपमा स्थापित भएको राप्रपा प्रायजसो दुई कारणले फुट्ने गरेको यसअघिको उदाहरण छ। एउटा राजतन्त्रसँग जोडिएर सत्ता राजनीतिको भर्‍याङ् चढेपछि भर्‍याङ्नै लात्ताले हानेर लडाउने र आफू शक्तिको रवाफमा रमाउने शैली राप्रपाको पहिचान झैँ बन्यो। दोस्रो राजासँग नजिक भएर शक्तिको राज गर्नेलाई छिमेकी देशको सहयोगमा साइजमा ल्याउने र पुनः शक्तिमा जाने। 

अहिले राजतन्त्र नभएका बेला केले काम गर्‍यो त?

राप्रपा प्रजातान्त्रिकतर्फ रहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिलेको फूटको मुख्य कारण कमल थापा हुन्। उनको एकलौटी अघि बढ्ने कार्यशैली हो।' 

त्यति मात्र फूटको कारण रह्यो त?

'अहिले पनि कमल थापाको राजनीतिका लागि मात्र राजतन्त्रको मुद्दा लिने शैलीले परम्परागत राजतन्त्रको भूमिका कमल थापालाई कमजोर पार्ने मै रह्यो,' ती केन्द्रीय सदस्यले भने, 'पशुपतिशमशेरजीको नेतृत्व स्थापित गर्न र सुनिलबहादुर थापासहितको एउटा शक्ति निर्माणका लागि केही शक्तिको सदभाव रह्यो।‘
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell