PahiloPost

Jun 24, 2025 | १० असार २०८२

रसुवामा पहिरोमा परी चारजना बेपत्ता, चार घाइतेको उद्दार



पहिलोपोस्ट

रसुवामा पहिरोमा परी चारजना बेपत्ता, चार घाइतेको उद्दार

नुवाकोट: अविरल वर्षासँगै बगेको पहिरोमा परी रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेशीमा एकै घरका चारजना हराइरहेका छन् भने घाइते अवस्थामा चार जनालाई उद्धार गरिएको छ।

गए राति ९ बजे बस्ती माथिबाट आएको पहिरोमा परी ७२ वषीय धर्मबहादुर थापामगर, उहाँको बुहारी २८ वर्षीया मुना थापामगर, ३ वर्षीय नाति रबिन थापामगर र उनीहरुको घरमा काम गर्ने सहयोगी ७० वर्षीय भक्तबहादुर नगरकोटी हराइरहेका छन्।

निरन्तर पहिरो झर्ने क्रम जारी रहेकाले उनीहरुको उद्धारमा पुगेको नुवाकोट र रसुवाको नेपाल प्रहरी र श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीलाई कठिनाइ भएको छ। पहिरोमा परी अन्य चारजना घाइते भएकामध्ये रुद्र थापामगर र देवकी थापामगरको अवस्था गम्भीर छ। चारै जना घाइतेको नुवाकोटको मनकामना शान्तिबजारतर्फ लागेर स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउन पहिरोले सडक अवरुद्ध रहेको र आवत जावतमा समेत कठिनाइ भएकाले सकिएको छैन।

आइतबार साँझदेखि नै वर्षा भइरहेकाले राति ९ बजे पैरेबेशीस्थित माथिबाट पहिरो आएको स्थानीय बासिन्दाले बताएका छन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार वर्षाले रसुवाको लहरेपौवास्थित खाल्डेदेखि नै घटनास्थल पैरेबेशीसम्म पुग्न रसुवा र नुवाकोटको विभिन्न स्थानमा पहिरो बगिरहेकाले उद्धार गर्न थप टोली घटनास्थलमा जान सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell