PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

दाजुको ज्यान जोगाउन १९ वर्षीया बहिनीले दिइन् किड्नी, औषधोपचार पो कसरी?



सागर बुढाथोकी

दाजुको ज्यान जोगाउन १९ वर्षीया बहिनीले दिइन् किड्नी, औषधोपचार पो कसरी?

काठमाडौं: नौ वर्षअघि उनको मृगौलामा जटिल किसिमको पत्थरी भयो। १३ वर्षकै उमेरमा मृत्युसँग जुध्नुपर्ने! परिवारले बाँच्ने आशा मारिसकेका थिए। तर,डाक्टरहरुले जोखिम मोल्ने निर्णय गरे। अपरेसन सफल भयो।

मृगौलाबाट चामलको दानाजस्ता ५० वटा भन्दा बढी स्टोन निस्कियो। उनले पुनर्जीवन पाए।

आठ वर्षपछि २१ वर्षकै उमेरमा फेरि मृत्युसँग संघर्ष गर्नुपर्ने स्थिति आयो।

उनका दुवै मृगौला फेल भए। उपचारका लागि जायजेथा बेच्नुपर्‍यो। १९ वर्षीया बहिनीले मृगौला दिइन्। बहिनीले जीवनदान दिइन्।

दोस्रो पुनर्जीवन पाउँदा सबै सम्पत्ति सकियो।

पटकपटक मृत्युको मुखमा पुगेर संघर्ष गर्ने यिनी हुन् भक्तपुर दूधपाटीका जीवनलाल रञ्जितकार।


पत्थरीको अपरेसन गर्दा ९ वर्षअघि नै ५ लाख सक्किसकेको थियो। बुबा कृष्ण बहादुरले ऋण गरेर उपचार गराएका थिए। त्यो ऋण तिर्नको लागि कृष्ण बहादुरलाई वर्षौ लाग्यो।

कृष्ण बहादुरको कुनै व्यापार छैन्। जागिरे हैनन्। सामान्य किसान उनले खेतीपाती र ज्याला मजदुरीले परिवार चलाइरहेका छन्। वैशाख १२ को भूकम्ले घर भत्काएपछि उनीहरु छाप्रामा छन्।

पत्थरीको अपरेसनपछि जीवनलालको जीवन राम्रो गतिमा हिँडेको थियो। घरको काम गर्थे। स्कुल जान्थे। ९ कक्षा पढ्दापढ्दै स्कुल छोडे। आर्थिक अवस्था पढाइको तगारो बन्यो। होटेलमा 'कुक' भए।

२०७३ साल मंसिर १९ गते। यो मिति उनका लागि अकल्पनीय दिन र विर्सन नसक्ने घटना बन्यो।

‘म बिहानै होटेलको काम सकेर सुतिरहेको थिए। सुतेको सुत्यै भएछु। साथीहरुले वीर अस्पताल लगेछन्। होसमा आउँदा डाक्टरले दुवै मृगौला फेल भएको सुनाए,’ त्यस दिनलाई उनले सम्झे, ‘सुनेपछि मेरो दिमाग शून्य भयो। बाँच्छु भन्ने आशा जागेन। केही सोच्न नसकेर एकोहोरो भए।’

छोराको मृगौला फेल भएको थाहा पाएपछि कृष्ण बहादुरले ९ वर्षअघिको पत्थरीको अपरेसन सम्झिए। ५ लाख जुटाउन गरेको दुःख आँखामा झल्झली नाच्यो।  ५ लाख तिर्न गरेको परिश्रम सम्झिँदा जिउ फतक्कै गल्यो।

कृष्ण बहादुरले छोरालाई बचाउन सकिँदैन भन्ने सोचिसकेका  थिए। तर, जीवनलालाई जब अस्पतालमा देखे उनको मन परिवर्तन भयो। छोरालाई जुनसुकै हालत मर्न नदिने प्रतीज्ञा गरे।

‘अस्पताल भेट्न जाँदा रुदै भन्यो- बुबा मलाई जसरी भए पनि बचाउनुस्। म बाँच्न चाहन्छु। त्यसपछि मैले यसलाई जति खर्च लागे पनि बचाउँछु भन्ने निर्णय गरेँ,’ कृष्णबहादुर भावुक सुनिए, ‘उसकै सम्पत्ति हो। उपचार गरेर सकिए सकियोस्।’

वीर अस्पतालबाट डाइलाइसिस गर्न किष्ट मेडिकल कलेज पठाइदियो। १ महिनासम्म उनीहरु त्यहीँ बसे। एकपटक डाइलाइसिस गर्दा २६ सय सकिन्थ्यो। हप्तामा तीन पटक डाइलाइसिस गर्नैपर्थ्यो। औषधि उस्तै महँगो। निरन्तर डाइलाइसिस गर्दा पनि बाच्ने आशा थिएन्। जीवनलालको शरीर अत्यन्तै कमजोर भइसकेको थियो।

डाइलाइसिस र औषधिको खर्च धान्न नसक्ने। त्यतिबेला डाइलाइसिस नि:शुल्क  थिएन्। कृष्णबहादुरले उपचारका लागि आफूसँग भएको ६ रोपनी जग्गा बेचे। हप्तामा ३ दिनको दरले ९ महिनासम्म डाइलाइसिस निरन्तर गर्नुपर्‍यो।

सबै रकम जोड्दा कृष्णबहादुरको १५ लाख सकियो।

डाइलासिस गरेको ९ महिनापछि मृगौला ट्रान्सप्लान्ट गर्नुपर्ने भयो। अब सुरु भयो मृगौलाको खोजी। आफ्नो ज्यान जोखिममा राखेर बाहिरको मानिसहरु मृगौला दिन तयार हुने कुरा थिएन।

कसले दिने त मृगौला ? उनीहरु खोज्न थाले। खोजी परिवारबाटै सुरु भयो। बुबा कृष्ण बहादुरले मृगौला दिन चाहेनन्। जीवनलालको उपचारपछि कृष्ण बहादुरले धेरै काम गर्नुपर्ने हुन्थ्यो। परिवार धान्नका लागि ज्याला मजदुरीको विकल्प थिएन।

त्यसलै एउटा मृगौला दिएर कमजोर बन्न चाहँदैन थिए उनी।

जीवनलाल सानै छँदा उनको आमा बच्चा जन्माउन नसक्दा बितेकी थिइन्। बुबाले कान्छी ल्याएका थिए। सौतेनी भनेर फरक रुपमा बुझिए पनि कान्छी आमा मृगौला दिन तयार भइन्। तर, ब्लड ग्रुप मिलेन।

अनि एउटै विकल्प बाँकी रह्रयो। जीवनलालकी १९ वर्षीया बहिनी लक्ष्मी।


लक्ष्मी सानैदेखि फुपुको घरमा बस्थिन्। दाइको मृगौला फेल भएपछि  दाइसँगै बस्न थालेकी थिइन्। दाइको हालत देख्दा उनका आखाँमा आशु ओभाएका थिएनन्। दाइको हेरचाह गर्ने जिम्मा लक्ष्मीकै काँधमा थियो।

मृगौला नै दिनुपर्छ भन्ने सोचेकी थिइनन् उनले। क्रसम्याच भेरिफिकेसन गरियो। लक्ष्मीले मृगौला दिन मिल्ने भयो। क्रसम्याच गर्दा मात्रै डेढ लाख सक्कियो।

उनलाई थाहा छ, एउटा मात्र मृगौला नहुँदा  गह्रौं काम गर्न सक्दिनन्। मृगौलाकै कारण भविष्यमा धेरै रोगसँग लड्न कमजोर हुन्छिन्।

तर, उनी मृगौला दिन तयार भइन्। किन त ?

‘मायाले। दाइ मर्न लागेको कसले देख्न सक्छ र?,’ लक्ष्मी भावुक भइन, ‘सबैभन्दा ठूलो ज्यान हो। मेरो एउटा मात्र दाइ, बाबाको एउटामात्र छोरो। उहाँलाई बचाउनको बुबाले सारा सम्पत्ति सक्दा मैले एउटा मृगौला दिनै पर्‍यो नि।’

लक्ष्मी अहिले १२ कक्षामा अध्यनरत छिन्। दाइको डायलाइसिस गर्नु परेकाले परीक्षा दिनसमेत पाइनन्। फेरि पढ्ने सोचमा रहेकी उनलाई आर्थिक अवस्थाले अवरोध गर्छ भन्ने डर छ। केही सीपमूलक काम सिकेर जिउने सपना पालेकी छिन्।

‘दाइको उपचारमा सबै सम्पत्ति सकियो। ६ महिना केही काम गर्न सक्दैनन्। मेरो हालत पनि उस्तै छ। बुबा एक्लैले बिहान बेलुका खाना जुटाउनुहोला। तर, दाइले जीवभर औषधि खानुपर्छ,’ उनको चिन्ता छ, ‘त्यत्रो महँगो औषधि खाने पैसा कहाँबाट ल्याउनु?’

लक्ष्मीलाई जस्तै जीवनलाललाई पनि अहिले त्यही समस्याले सताएको छ। ‘बाँच्न त बाँचियो अब कसरी जीवन धान्नु? औषधि किन्ने पैसा कहाँबाट ल्याउनु?,’ उनी केही सोच्न नसकेको सुनाउँछन्, ‘जे होला होला, हामी सबै भगवान भरोसामा छौं।’

 

१५ लाख खर्च हुँदा सरकारको २ लाख

कृष्ण बहादुरका अनुसार सरकारले अपरेसन गर्दा २ लाख दिने रहेछ। अपरेसन गरेको ७ दिनभित्र त्यति रकम खर्च गरेको बिल पेस गर्नु पर्ने रहेछ। औषधिको लागि १ लाख।  तर, अपरेसन सुरु गरेको ७ दिन भित्रमा यो रकमको बिल पेस गर्नुपर्ने कृष्ण बहादुर सुनाउँछन्।


‘अपरेसन गर्नुअघि साढे ४ लाख अस्पतालमा जम्मा गर्नुपर्‍यो। सरकारले पैसा पछि दिने रहेछ,’ कृष्ण बहादुरले सुनाए, ‘१५ लाखभन्दा बढी खर्च हुँदा सरकारले जम्माजम्मी ३ लाख जति दिने रहेछ। गरिब मृगौला पीडित भएपछि बाँच्न नसकिने रहेछ।’

जीवनलालले जीवनभर औषधि खानुपर्छ। हप्तामा २ पटक मृगौलाको ‘ट्याग लेभल’ चेक गर्दा ६ हजार खर्च हुन्छ। यो पनि जीवनभर नै गर्नुपर्छ। महिनाको ८० हजारको औषधिमा खर्च हुन्छ। अपरेसनपछिको यो खर्च सम्झँदा पनि रिंगटा लाग्ने जीवनलाल सुनाउँछन्।

‘भएभरको जायजेथा सक्दा पनि रोगले जीवनभर छोड्दैन रहेछ। यस्तो थाहा पाएको भए बाँच्ने रहर जाग्दैन थियो। अहिले पछुतो लागेको छ।’

जीवनलाल दुःखेसो पोख्छन्, ‘बुबाको सम्पत्ति सकियो। बहिनीको मृगौला गयो। तै पनि, अझै  खर्च लाग्ने रहेछ। म आफैँलाई थाहा छैन्, अब बाँच्नका लागि त्यत्रो पैसा कहाँबाट ल्याउँ?’

‘बहिनीले मृगौला दिएर बचाउन त बचाई, तर औषधि किन्न नसकेर मर्छु जस्तो लाग्न थालेको छ,’ जीवलालले पीडा सुनाउँदै गर्दा लक्ष्मीको आँखामा आँसु टलपल थिए। बुबा कृष्ण बहादुर ‘तँलाई जसरी पनि बचाउँछु छोरा’ भनेर सान्त्वना दिनसमेत सकिरहेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell