
काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना दलहरुलार्इ संघीयता घाँडो भएको बताएका छन्।
सोमबार माओवादी केन्द ४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘एमालेलगायतका पुराना पार्टीलाई संघीयता घाँडो भएको छ, गणतन्त्र पनि मन परेको छैन। समावेशी–समानुपातिक पनि मन पर्दैन।’
‘हिजो आफैले हरुवा, चरुवा, गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री भएका छन्। हिजो आफूले कारिन्दा बनाएकालाई आफ्ना सांसद, मन्त्री मानेर नमस्कार गर्दा उनीहरुलाई असैह्य भएको छ। त्यसकारण पनि उनीहरु संघीयता, समावेशी–समानुपातिक र गणतन्त्र पनि उल्टाउन चाहन्छन्।’ प्रचण्डले भने।
पार्टीभित्रका समस्याबारे चर्चा गर्दै प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै माओवादीको समस्या भएको बताए।
माओवादी घटकको एकता
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इले पार्टी एकता सम्भव नभएको अभिव्यक्ति दिर्इरहेका बेला प्रचण्डले माओवादी घटकहरुको एकताको काम भर्इरहेको बताए।
माओवादी धाराको एकता अनिवार्य भएकोमा जोड दिँदै प्रचण्डले भने,‘वैद्यजी, बाबुरामजीलगायतका साथीहरु पार्टीलाई रुपान्तरण गर्न र नयाँ बनाउन जानुभएको हो। तर, सक्नुभयो त ? जनताले फुटलाई अनुमोदन गरे त ? जनताले फुटलाई अस्वीकार गरे। अब माओवादी एक हुनुको बिकल्प छैन। नयाँ शक्तिका पूर्व माओवादी साथीहरु लगभग सबै नै आउदै हुनुहुन्छ। विप्लवभित्र र वैद्यभित्र पनि एकताका लागि दवाव परेको छ। उहाँहरुले सोच्नैपर्ने परिस्थिति आएको छ।’