PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीको आन्दोलन



रासस

चितवन : विद्यार्थी आन्दोलनका कारण केही वर्षअघिमात्रै स्थापना भएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका सबै क्रियाकलाप ठप्प भएको छ। 

निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले आन्दोलन गरेपछि कलेजका सबै काम प्रभावित भएका हुन्। 

असार ६ गतेबाट आन्दोलन सुरु गरेका विद्यार्थीले गत सातादेखि सबै काम ठप्प पारी क्याम्पसको गेटमै धर्ना दिएका छन्।

विद्यार्थी आन्दोलनले सबै काम रोकिएको क्याम्पसका उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले जानकारी दिए । उनले भने,‘यसअघिका आन्दोलनमा ल्याबहरु खुल्थे, अहिले ल्याबसमेत खुल्न सकेको छैन।’

विश्वविद्यालयले सरकारले ७ प्रदेशमा स्थापना गर्ने भनेको आंगिक क्याम्पस स्थापना गर्नुको साटो निजी कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको भन्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन थालेको अखिल क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष विश्वास अम्गाईले बताए। 

आन्दोलन थालेका विद्यार्थी समूह (दुई अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियु)ले केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। विद्यार्थीको मागमा सुनुवाइ नै नगरी काठमाडौँमा बसेर थप प्रक्रिया अगाडि बढाएपछि सबै काम ठप्प दिए। 

विश्वविद्यालयले पहिलोचरणमा नवलपरासीको गैँडाकोटमा दुईवटा, परासीमा एक, झापामा एक, इटहरीमा एक, सप्तरीमा एक सुर्खेतमा एक, टीकापुरमा एक र काठमाडौँमा एक गरी १० वटा निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको विद्यार्थीको भनाइ छ। करोडौँ रकम आर्थिक चलखेल गरी निजी कलेज सञ्चालनको तयारीमा विश्वविद्यालयका पदाधिकारी लागेको आरोप अम्गाईले लगाए। 

विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकालले यस विषयमा तीन वर्ष अगाडिदेखि नै विज्ञापन भएको तर अहिलेको प्रक्रिया नभएको बताए।

शिक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाइरहेकाले रोक्ने स्थिति भएको प्रतिक्रिया दिँदै उनले सम्बन्धनका लागि २४ वटा आवेदन परेकामा १४ वटाको स्थलगत अनुगमन गरेर प्रतिवेदन बुझाइएको जानकारी दिए। उपकुलपति डा ढकालले आन्दोलन गर्नुभन्दा विद्यार्थीको पढ्न पाउने अधिकार संरक्षणमा ध्यान दिन आग्रह गरे। 

विश्वविद्यालयको सभाबाट पारित भएर विश्वविद्यालयले सातवटा आंगिक क्याम्पसको प्रक्रियासमेत अगाडि बढाएका बेला निजीलाई सम्बन्धन दिन नहुने तर्क गर्छन् उपप्राध्यापक अनन्त सुवेदी ।

उक्त विश्वविद्यालयअन्तर्गत अहिले कास्कीमा एउटा आंगिक क्याम्पस, हेटौँडामा वनविज्ञान संकाय तथा केन्द्रीय कार्यालय, चितवनमा कृषि संकाय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय सञ्चालित छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell