PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्यु, स्वाइनफ्लुका एक सय बिरामी भेटिए



रासस

स्क्रब टाइफसबाट चितवनमा एक जनाको मृत्यु, स्वाइनफ्लुका एक सय बिरामी भेटिए

चितवन : चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको मृत्यु भएको हो   

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार उपचारकै क्रममा मृत्यु भएको हो। यसअघि अघिल्लो आर्थिक वर्षमा १०९ जनामा रोग देखिएकामा चारजनाको मृत्यु भएको थियो। 

यो आर्थिक वर्ष लागेपछि स्क्रब टाइफसबाट मृत्यु भएको यो पहिलो हो। उनले जिल्लामा साउन महिनाको अहिलेसम्म २६४ जना बिरामीको परीक्षण भएकामा ७५ जनामा टाइफस रोग लागेको पाइएको जानकारी दिए। 

सत्ताइसभन्दा बढी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा गुणनिधि शर्माका अनुसार ती जिल्लामा सयभन्दा बढीमा सो रोग देखिएको छ। 

सबैभन्दा बढी चितवनमा संक्रमण पाइएको छ। ज्वरो आएपछि मेडिकलमा गएर औषधि खाने र अलि जटिल भएपछि मात्रै अस्पताल जाने गर्दा जटिलता भएको शर्माले बताए। 

माइट नामको एक प्रकारको सूक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ। यो रोग मुसाको कानमा बस्ने गर्छ। 

नेपालमा २०७२ सालमा पहिलोपटक सो रोग देखा परेको थियो। मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्छ। 

यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले जानकारी दिए। चितवनमा उक्त रोगको परीक्षणका लागि किटकोसमेत अभाव छ। 

स्वाइनफ्लुका १०० बिरामी 

चितवनमा स्वाइनफ्लु भनेर चिनिने इन्फ्लुएन्जा एएच१ एन१ का एक सयजना बिरामी भेटिएका छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक केसीले गएको जेठ १९ देखि यही साउन ९ गतेसम्मको प्रतिवेदनअनुसार १३७ बिरामीको परीक्षणमा यसरी एनएच१ एन१ फेला परेको जानकारी दिए। 

भरतपुर अस्पतालमा भाईरल ज्वरोका बिरामी बढेको भन्दै अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले फ्लु ए पोजेटिभका बिरामीसमेत आइरहेको बताए। 

उनले बढी गर्मी र पानी पर्ने समयमा यस्ताखालका बिरामी बढी आउने गरेको जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell