PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

के देउवा सरकारमा जान फुटाए पार्टी? राणा भन्छन : कमल थापा आए पार्टीमा स्वागत



सागर बुढाथोकी

के देउवा सरकारमा जान फुटाए पार्टी? राणा भन्छन : कमल थापा आए पार्टीमा स्वागत

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालबाट छुट्टिएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेका पशुपतिशम्शेर राणाले पत्रकार सम्मेलन गरेका छन्। सम्मेलनमा पार्टी ध्वस्त हुनबाट जोगाउन नयाँ पार्टी गठनको विकल्प नभएको बताए।

पत्रकार सम्मेलनमा राणालाई सोधियो,  ‘तपाईँहरुले पहिल्यै पनि पार्टी हतारमा एकीकरण गर्नुभएको थियो। अहिले त्यही क्रम किन दोहोरियो?’
‘त्यतिबेला हतारमा एकिकरण गरेकोमा पछुतो लाग्यो। तर,  नयाँ गठन गरेकोमा पछुतो लाग्दैन,’ राणाले पछुतो लाग्नुको कारण खुलाए, ‘सरकारमा सहभागिता जस्ता कुराहरुलाई राष्ट्रको हित वा पार्टीको हित भन्दा व्याक्तिको लहडमा चल्ने नेतृत्व भएर पछुताउनुपर्यो। स्थानीय निर्वाचनमा लज्जास्पद हार भोग्नुपर्यो। नेतृत्वले त्यो हारको जिम्मा लिएन।’

राणाले पछुताउनुको अर्को कारण यस्तो छ,  ‘हाम्रो पार्टी एकिकरण मात्र भएको थियो तर बिलय भएको जस्तो व्यवहार भयो।’

राप्रपा नेपालबाट फुटेर प्रजातान्त्रिक गठनको ग्राण्ड डिजाइन भारत र शेर बहादुर देउवाको भएको कमल थापाको आरोप छ। थापाले राणा भारत परस्त भएर पार्टी फुटाएको अभिव्यक्ति दिएका थिए।

कमल थापाको अभिव्यक्ति झुट भएको राणा बताए,  ‘नेपालमा जे भए पनि भारतको हात देख्ने चलन छ। न पार्टी एकिकरण हुन भारतको हात थियो, न फुट्नुमा भारत र शेरबहादुरको  देउवाको हात छ। हाम्रो  कार्यकर्ताको चाहनाको कारण नयाँ पार्टी गठन भएको हो।’

‘राप्रपा प्रजातान्त्रिकको मुख्य एजेण्डा राजतन्त्र कि प्रजातन्त्र?’  राणाले यो विषयमा पार्टीमा छलफल भइनसकेको बताए। उनले भने, ‘हामी वैकल्पिक राष्ट्रवादी पार्टी बन्न चाहन्छौं। पक्कै पनि हाम्रो मुख्य एजेण्डा हाम्रो धर्म सस्कृति, मूल्य मान्यता जोगाएर अघि बढ्नु हुनेछ। हाम्रो मूल्य मान्यतालाई लत्याएर अघि बढ्दैनौं।’

देउवा सरकारमा जानका पार्टी फुटाएको आरोप खेपिरहेका राणाले त्यसको प्रतिरोध गरे। उनले भने, ‘हामी सरकारमा जाने नजाने निर्णय गर्न बाँकी छ। भर्खरै पार्टी दर्ता गरेकाले हामीले धेरै कुरामा छलफल गरेर सोचविचार गरेर अघि बढ्नुपर्छ।’

राणाले कोही मिल्न आउँछ भने त्यसलाई सकरात्मक लिने बताए। भने, ‘हामी सबै राष्ट्रवादी पार्टी वा व्याक्ति हाम्रो पार्टीमा मिल्न चाहेमा स्वागत गर्छौ। कमल थापा वा डा. प्रकाशचन्द्र लोहनीले चाहनुभयो भने पनि आउन सक्नुहुन्छ। उहाँहरुलाई हामी स्वागत गर्छौं।’

नेतृत्वले समन्वयकारी भूमिका नखेलेर, जनताको भावना नबुझी निर्णय गरेकाले पार्टी फुटाउनुपरेको राणाको दलिल थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell