
रत्ननगर: नहरमा डुबेर चितवनको भरतपुरमा एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका वडा नं १४ का ५५ वर्षीय गोविन्द अधिकारीको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सोमबार खेतको आलीमा हिँड्दै गर्दा लडेर उनी नहरमा पुगेका थिए। सोही क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।
नहरमा डुबेको देखेपछि स्थानीयवासीले उद्धार गरी उपचारका लागि चितवन मेडिकल ल्याइएकोमा उनको दिउँसो ३ बजे मृत्यु भएको थापाले जानकारी दिए।
शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।
घटना हुनुअघि उनले मदिरा सेवन गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। यता चितवनको भरतपुर महानगरपालिका वडा नं ६ की ३३ वर्षीया रञ्जना श्रेष्ठले आफ्नै घरमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। रासस