PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

राप्रपा विभाजनमा कांग्रेस फ्याक्टर: कमल थापामाथि विमलेन्द्रको बज्रप्रहार, सफल भयो देउवाको दाउ



सूर्य खड्का

राप्रपा विभाजनमा कांग्रेस फ्याक्टर: कमल थापामाथि विमलेन्द्रको बज्रप्रहार, सफल भयो देउवाको दाउ

काठमाडौं : नाम होस् वा गुमनाम, संसदीय सत्ता राजनीतिमा आफ्नै स्वभाव र शैलीको कीर्तिमान छ मुख्य सत्तारुढ दल नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको।

सत्ता नेतृत्वको चौथो राउण्डको पहिलो २ महिनामा नै उनले संसदको चौथो ठूलो दल राप्रपामा नाटकीय सुनामी ल्याइदिएका छन्। पूर्व पञ्चहरुको दलका रुपमा चिनिने संसदको चौथो ठूलो दल राप्रपा विभाजनको भित्री कारक देउवा सत्ताकै प्रताप हो।

संविधानको सर्वस्वीकार्यता वृद्दि तथा संविधानतः घोषित सबै चुनावहरु सम्पन्न गर्ने मुख्य कार्यसूचीका साथ गत जेठ २४ मा सत्तारोहण गरेका देउवाका लागि अघिल्लो सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधयेक पारित गराउनु कार्यकालकै जटिल चुनौती हो। त्यो चुनौती पार गर्न मुख्य विपक्षी नेकपा एमालेले पाइलैपिच्छे अवरोध गरिरहेको पृष्ठभूमिमा प्रधानमन्त्री देउवाले संसदबाट सो विधयेक पारित गराएर असन्तुष्ट समूह राजपालाई चुनावमा सामेल गराउन चाहिरहेका छन्। औपचारिक, अनौपचारिक, दृश्य, अदृश्य रुपमा यसका लागि पदबाहल भएदेखि नै देउवाले सक्दो कोसिस थाले।

यसका लागि एकीकरणपछि ३७ सिटसहित चौथो ठूलो दल बनेको राप्रपाको समर्थन देउवाका लागि डुब्दो नाउको सिन्को साहारा भने जस्तै थियो। त्यसैका लागि उनले सत्तारोहण अघिदेखि पछिसम्म वार्ता समिति नै बनाएर सत्ता सहकार्यदेखि संशोधनमा एकमतको समर्थन सम्मका लागि कोसिस गरिरहे।

तर, राप्रपा अध्यक्ष कमल थापा आफैले नेतृत्व पाएमा मात्रै सरकारमा जाने अन्यथा पार्टीलाई नै सरकारमा जान नदिने जस्तो निर्णय लिए। त्यसैको सत्तारुढ प्रतिरोधको देउवा शैलीमा राप्रपा साउन २२ का दिनमा माटोको भाँडो जस्तो दुई टुक्रा हुन पुग्यो।

 

देउवाको राप्रपा कनेक्सन

सभापति कांग्रेसका भए पनि साइनो राप्रपासँग घनिष्ट भएका अलौकिक सम्बन्धका धनी पात्र हुन् प्रधानमन्त्री देउवा। आफ्नी धर्मपत्नी आरजु राणा देउवा तत्कालीन राप्रपा केन्द्रीय सदस्य तथा हाल जापानका लागि नेपाली राजदूत प्रतिभा राणाकी छोरी हुनु नै देउवाको राप्रपा कनेक्सनको बलियो गुत्थी हो। प्रतिभा राणाको छोरीज्वाइँ भएकै कारण तथा अन्य राजनीतिक दृष्टिकोण र संस्कारजन्य समानताहरुले पनि उनलाई राप्रपा र खासगरी नेता पशुपति शम्शेर राणाको समीपमा पुर्‍यायो। प्रतिभा राणा पशुपति शम्शेर राणका दाहिने हात हुनु र देउवाकी सासु हुनु अहिलेको प्रकरणमा संयोगमात्र होइन।

जसै राप्रपा अध्यक्ष कमल थापा एकमतले आफ्नो दलका ३७ सांसदलाई संविधान संशोधनको पक्षमा मतदान गराउन नसक्ने निरीह पात्र बने, तब देउवाको राप्रपा साइनो पशुपति शम्शेर राणा कित्तासँग नजिकियो। यसको प्रभाव यही हो कि पशुपति शम्शेर राणा खोमाको राप्रपा प्रजातान्त्रिक फुर्को जोडेर छुट्टै पार्टीका रुपमा उदय भयो।

प्रधानमन्त्री देउवासँग हाल सत्ता सहायात्रा गर्ने र निकट संघीय तथा संसदीय चुनावहरुमा कांग्रेस माओवादीको गठबन्धनमा नै सामेल भएर संयुक्त मोर्चाका साथ चुनावी प्रतिस्पर्धा गर्ने भद्र सहमतिकै आधारमा राप्रपा फुटेको हो। यसका साक्षी किनारा वा ज्यूँदा प्रमाण राप्रपाबाट सुनील थापा, दीपक बोहराहरु र कांग्रेसबाट बिमलेन्द्र निधिहरु नै छन्।

 

उपको रडाको, विभाजनको झटारो

राप्रपाको वर्तमान विभाजन लगत्तै कमल थापाका निकट राप्रपा युवा नेता मोहन श्रेष्ठको प्रतिक्रिया थियो - छापामार शैलीमा पशुपति शम्शेर राणाले राप्रपा विभाजनको प्रयास गर्नु दुखद् र दुर्भाग्यपूर्ण छ। दर्ताको सूचना दिनासाथ निर्वाचन आयोगले सनाखत गर्नु आश्चर्यजनक।

कमल थापा पक्षधरलाई नेता श्रेष्ठकै शब्दमा आश्चर्यजनक लागे पनि साउन २२ को पार्टी विभाजन सत्तारुढ कांग्रेसका लागि कुनै आश्चर्य थिएन। कारण अहिले कांग्रेसका प्रतीक्षाका सभापति भनिएका नेता अर्थात् उपसभापति नियुक्त हुने लाइनका विमलेन्द्र निधि राप्रपा विभाजनको जुइनो कसिरहेकै थिए।

प्रचण्ड नेतृत्वका उपप्रधान तथा गृहमन्त्री हुँदा वरिष्ठताको विवाद झिकेर राप्रपा अध्यक्ष कमल थापाले निधिलाई अपमानपूर्वक तनाव र झन्झट दिएका थिए। त्यसको बदला लिन र कमल थापालाई साइजमा ल्याउन नदेखिएरै खेला खत्तम पारिदिने राम्रो अवसर थियो राप्रपाभित्रको पछिल्लो ४२ केन्द्रीय सदस्य मनोनयनको खिचडी। किन भने त्यसको विरोधमा बरिष्ठ नेता राणाले सार्वजनिक रुपमा नै अध्यक्ष थापामाथि कटाक्ष मात्रै गरेका थिएनन्, पार्टी केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका थिए। र, अध्यक्ष थापा नसच्चिए पार्टी फुट्ने खुल्ला उद्घोष पनि।

आन्तरिक विवादको धमिलो पानीमा माछा मार्न प्रधानमन्त्री देउवाका मुख्य सहयोगी निधिले पर्दा पछाडि रहेरै भूमिका खेलिदिए। यसबाट एकतिर दुई निशानाको फाइदा पाए निधिले। पहिलो उनले सत्ताकालको उपप्रधानमन्त्रीको वरिष्ठता विवादका मुख्य पात्र थापासँगको राजनीतिक इगोको बदला लिए। दोस्रो उनले कमल थापालाई तन्नम बनाएर राप्रपालाई यही सत्ता गठबन्धन र सरकारको सहयोगीका रुपमा खडा गर्ने ठूलो राजनीतिक लाभ हासिल गरे। पार्टी विभाजनको झटारोका साथ थापासँगको वरिष्ठताको वैरभाव फच्चे गर्न खेल्ने निधि शैली आवरणमा कतै प्रकट भएन।

 

संसदीय सत्ता खेलको खल्ली देउवा

२०४८ को चुनावपछि एकमना सरकार बनाएको कांग्रेसको पहिलो गृहमन्त्री भएसँगै सुरु भएको देउवाको सत्ता यात्रा आर्थिक अपचलनका मुद्धासँग नजोडिए पनि संसदीय सत्ता राजनीतिमा गैर संसदीय हर्कतको लागि उदाहरणीय मानिन्छ।

सत्ता टिकाउन जम्बो मन्त्रिमण्डलको रचना, सांसदहरुलाई विवादास्पद पजेरो तथा प्राडो जस्ता बिलासी सवारीको भन्सार छुटसहितको सुविधा, सांसदहरुलाई विदेश सयर गराउनेदेखि भूमिगत बनाउने लगायतका गैर संसदीय हर्कतमा देउवा पूर्ण अनुभवी र पारङ्गत नेता हुन्।

पुरुष सांसदको सुत्केरी बिल भुत्तानीका कसरत हुन् वा सुरासुन्दरीमा सांसदहरुलाई भुल्याएर सरकारको गणित जोगाउनमा होस् वा पार्टी फुटाएर आफ्नो समर्थन कायम गराउनमा नै किन नहोस् देउवा पोख्त र खल्ली नेता हुन्।

आफ्नो सुविधा र हितका लागि अरु पार्टीमा खेल्न सक्ने खुबी देउवाको राजनीतिक दाउपेचको अर्को सफल पक्ष हो। त्यो पुरानो अनुभव यसपटक राप्रपामा पनि उनले प्रयोग गरे।

 

दक्षिणी छायाँको प्रभाव

निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन पेस गरेर फर्कँदै गर्दा संचारकर्मीको जिज्ञासामा राप्रपा महामन्त्री तथा सांसद सुनील बहादुर थापाले पटक-पटक २३ वर्षसम्म स्व. सूर्य बहादुर थापाले नेतृत्व गरेको राप्रपाको प्रसँग उठाए। इतिहास नै हो कि जति पटक जुट्दै फुट्दै आएको भए पनि राप्रपाका संस्थापक सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्द नै हुन्।

२०४६ मा कांग्रेस तथा तत्कालीन सात दलीय बाम मोर्चाको संयुक्त जनआन्दोलनले पुनर्स्थापित गरेको प्रजातन्त्रसँगै विघठित पञ्चायतका अवशेषका रुपमा उदाएका थिए, राप्रपा चन्द र राप्रपा थापा। समय क्रममा यी दुई दलको औसत उपलव्धि जुट्ने र फुट्नेमा नै बित्यो। थापा दक्षिणी छिमेकका विश्वासपात्र र लोकेन्द्र बहादुर चन्द थापाको तुलनामा पञ्चायती शासकको पृष्ठभूमिबीच प्रजातान्त्रिक राजनीतिमा पुनर्स्थापित भएका थिए।

अहिले नवगठित राप्रपा सूर्यबहादुर थापाकै लिगेसी हो भन्ने तथ्य उनका छोरा सुनीलले स्थापित गर्न खोजिरहेका छन्। यसको सीधा अर्थ दक्षिण छिमेकको अदृश्य समर्थनमा राप्रपा नयाँ बनेको तथ्य ओपन सेक्रेट जस्तै हो।

गत फागुनमा एकता महाधिवशेनमार्फत् जुटेको राप्रपा सैद्धान्तिक रुपमा गणतन्त्र र राजतन्त्रको विपरीत धारको सिद्धान्तलाई सम्वर्धनवादको लेपले टाल्न खोज्दै थियो। तर, नयाँ राप्रपाको उदयले वैकल्पिक प्रजातान्त्रिक शक्ति अर्थात् गणतन्त्रवादी धारको रुपमा आफूलाई पुरानै नीतिमा फर्काएको छ।

नेपालको गणतन्त्र संस्थागत भएको हेर्ने दक्षिण छिमेकको चाहना हो भने त्यसमा अब राप्रपा प्रजातन्त्रवादी पनि पछाडि फर्केर अघि बढ्न खोज्दै गरेको सन्देश पनि हो पछिल्लो विभाजन। यदि यसै हो भने पनि यो साहसिक पछाडि फर्कने निर्णय बिना कसैको आशीर्वाद हुन सक्ने राप्रपाको राजनीतिक छलाङ होइन नै।

 

एकलौटी निर्णयको मार

राप्रपा प्रवास विभाग प्रमुख विजय खड्काले केही दिन अघि ट्वीट लेखेका थिए -  प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाभित्र खेल्न खोजेका छन्। मन्त्री र आर्थिक प्रलोभन दिएर राप्रपा फुटाउने मेलोलाई राप्रपाका कार्यकर्ता र जनताले चिर्नेछन।

प्रदेश नम्बर २ मा पार्टीका चुनावी कार्यक्रममा व्यस्त रहेका अध्यक्ष थापाको निर्णय र धन्यवाद विपरीत प्रवास विभागका नेता खड्काले ट्वीट गरेका थिए। राप्रपाका असन्तुष्ट समूहलाई राप्रपाको संस्थापन पक्षको निर्णय विपरीत सरकारमा सामेल गराउन प्रधानमन्त्री देउवाले प्रयास गरिरहेको नेता खड्काको ट्वीट आफैमा असन्तुष्ट पक्षका नेता र सरकारमा जान लालायितहरुप्रति लक्षित थियो। राप्रपाका दर्जन बराबर सांसदले पार्टी अध्यक्ष थापाको कदमको विरोध गर्दै आएका थिए।

स्मरणीय के छ भने गत असार २४ मा प्रधानमन्त्री देउवा, सत्ता सहयात्री माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापा तथा वरिष्ठ नेता पशुपतिशम्शेर राणाबीच राप्रपा पनि सरकारमा सामेल हुन समझदारी भएको थियो। राप्रपाले उप-प्रधानमन्त्रीसहित महत्वपूर्ण ५ मन्त्रालयमा दाबी गरेको थियो।

तर, मन्त्रिपरिषदको हालैको दोस्रो बिस्तारमा प्रधानमन्त्री देउवाले आफूसँग ४ मन्त्रालय बाँकी राखेर राप्रपा बाहेकका दललाई समेटेर मन्त्रिमन्डल विस्तार गरे। राप्रपामा थापा र राणा पक्षबीचको  तिक्तता सतहमा नै पोखिँदै गर्दा प्रधानमन्त्री देउवाले राणा पक्षीय नेताहरुलाई समेटेर मन्त्री बनाउने बाटो खोलिदिँदा नयाँ राप्रपा थपियो।

सरकारले संविधान संशोधन अघि बढाउने आखिरी कसरत जारी राखेका बेला राप्रपामा कमल थापाबाट राजनीतिक पारपाचुके लिएका नवगठित दलका सांसदहरु अब यही सरकारमा सामेल भए अनौठो नहुने स्पष्टै छ।

समग्रमा राप्रपा विभाजन बदलाको राजनीतिमा निधिको विजय हो भने समर्थक दल थप्ने प्रधानमन्त्री देउवाको सफलता। किनभने कमल थापावाला राप्रपाले संविधान संशोधनमा समर्थन गर्ने बाचा यसअघि नै गरेकाले उ व्याक हुने सम्भावना कमजोर छ। नयाँ राप्रपा त देउवाको दाहिने हात हुने पक्कापक्की नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell