
काठमाडौंः मंगलबार विहान काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबको केन्द्रीय कार्यालयमा चर्चित कलाकारहरुको जमघट भएको थियो। कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेलले पछिल्ला राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयवस्तुको चर्चा गरे।
गजुरेलले पछिल्ला वर्षहरुमा गाईजात्रामा प्रस्तुत गरिने शैली छाडा हुन थालेकोमा चिन्ता व्यक्त गर्दै जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको आरोप लगाए।
गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुःखद भएको भन्दै गजुरेलले त्यस्ता प्रवृत्ति रोक्नुपर्ने बताए।
कार्यक्रममा गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र केपी शर्मा ओलीको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रममा सहभागी लोकगायक कमलीकान्त भेटवालले प्यारोडी गीतमार्फत समसामयिक समस्यालाई उठान गरे। भेटवालले झम्के गुलेली भाकामार्फत राजधानीको खाल्डा, प्रदुषण, अपहरणका घटनालगायत नेताहरुको गलत प्रवृत्तिको व्यङ्ग्य गरे।
उनले नेपाली कालाकारले साधनाबिना नै पैसा र रहरको भरमा गुणस्तरहीा सृजना गर्ने गरेको आरोपसमेत लगाए।
यस्तै, नवकलाकार नविन दाहालले नेपाली नेताहरुले काम नै नगरी देशको ढुकुकी रित्याएको विषयलाई व्यङ्ग्य गरे। उनले नेताहरु रामचन्द्र पौडेल, केपी शर्मा ओली, बाबुराम भट्टराई, चित्रबहादुर केसीलगायतको व्यङ्ग्यात्मक क्यारिकेचर गरेका थिए।
चलचित्र निर्माता तथा हास्य कलाकार दिपकराज गिरीले अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई भूमिका हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
गिरीले पछिल्लो समय आफ्नो पुस्ताले नयाँ शैलीको प्रस्तुति दिन नसकेको स्विकार गर्दै गिरीले सबै पुराना कलाकारले यो विषयमा सोच्नुपर्ने बेला आएको बताए।
०४६ साल पछिका वर्षमा प्रहसन हुने गाईजात्रा निरस बन्दै गईरहेको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत मुख्य दलका नेताको बारेमा व्यङ्ग्यात्मक प्रस्तुतिसमेत दिए।
गिरीको तर्कप्रति सहमत हुँदै वरिष्ठ कलाकार किरण केसीले पनि कलाकारितालाई पुस्तान्तरण गर्नुपर्ने बताएका छन्।
केसीले आफ्नो पुस्ताले झण्डै तीन दशक हास्यव्यङ्ग्य विधाको नेतृत्व गरेको उल्लेख गर्दै अब यो विधालाई अझ राम्रो बनाउनका लागि नयाँ पुस्ता अघि सर्नुपर्ने बताए।
कार्यक्रममा कलाकार केसीले गाईजात्राको महत्व घट्दै गएको र विषयमा विविधता नभएको स्वीकार गरे।जीवनका ४२ वर्षे यात्रामा अरुको नक्कल र आलोचना गरेका केसीले यो वर्ष अरु भन्दा पहिले आफू परिवर्तन हुनुपर्छ भन्दै आफ्नै जीवनका भोगाईको बारेमा अभिनय गरेका थिए।
त्यस्तै अर्का कलाकार शैलेन्द्र सिङ्खडाले प्रधानमन्त्री शेरबहादुर देउवाको अभिनय र पछिल्लो समयमा सामाजिक सञ्जालमा आएका विषयलाई अभिनयको माध्यमबाट सन्देश दिएका थिए।
भाईरल नामक गाईजात्रा निर्माण गरेका चर्चित कलाकार कमल गाउँलेले गाईजात्रामा नेपालीले भोग्नु परेको पीडालाई समावेश गरेको जानकारी दिदै प्यारोडी गीत गाएका थिए।
भाईरल नामक गाईजात्रा निर्माण गरेका चर्चित कलाकार कमल गाउँलेले गाईजात्रामा नेपालीले भोग्नु परेको पीडालाई समावेश गरेको जानकारी दिदै प्यारोडि गित गाएका थिए ।
प्रभावशाली आवाजमा प्रस्तुति दिन सक्ने क्षमता भएका गाउँलेले कला क्षेत्रले समाजका नयाँ पक्ष र लुकेका सन्दर्भहरुलाई बाहिर ल्याउनुपर्ने बताए।
कार्यक्रममा कलाकार जितु नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपीशर्मा ओली, रामचन्द्र पौडेललगायतका नेताको क्यारिकेचर गरेका थिए।
क्लबले हरेक वर्ष गाइजात्राको अवसरमा हास्यव्यङ्ग्य कलाकारलाई भेला गराएर अन्तरक्रिया गर्दै आएको छ ।