
काठमाडौंः नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको विषयमा छलफल भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय बीपी नगर सानेपमा जारी बैठकमा कांग्रेस नेताहरुले प्राध्यापक डाक्टर केसीसँग नेपाली कांग्रेसकै सरकारले सहमति गरेको र त्यसका लागि प्राध्यापक डाक्टर केदारभक्त माथेमाको कार्यदलले बुझाएको प्रतिवेदन नैं समाधानको माध्यम हुने बताएका छन्।
‘प्राध्यापक डाक्टर गोविन्द्र केसीको ज्यान बचाउनका लागि नेपाली कांग्रेस र सरकारको नेतृत्वको हैसियतमा पनि पहल गर्नुपर्ने कुरा हामीले राखेका छौ,’ केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘त्यसका लागि म केसीसँग यसअघि भएका सहमति र माथेमा आयोगले बुझाएको प्रतिवेदन नैं समाधानको विषय हुनसक्छ।’
उनले मेडिकल शिक्षाको क्षेत्रमा सुधार ल्याउन डाक्टर केसीले गरेको आन्दोलन र माथेमा कार्यदलको प्रतिवेदन समाधानको एकमात्र माध्यम बन्न सक्ने बताए।
‘माथेमा कार्यदलको प्रतिवेदन जस्ताको तस्तै कानुन बनाउनुपर्छ भन्ने हैन, तर त्यसलाई सन्दर्भ सामग्री बनाउन सकिन्छ’ केसीले भने। बैठकमा डाक्टर केसी र अस्थायी शिक्षकको आन्दोलनका विषयमा पनि छलफल भएको थियो।
‘अस्थायी शिक्षकको आन्दोलन र समाधानका विषयमा पनि छलफल भएको छ,’ केसीले भने, ‘अस्थायी शिक्षकको आन्दोलनको पनि समाधान खोज्ने तर शैक्षिक गुणस्तरमा समस्या नआउनेगरी समाधान खोज्नुपर्छ भनेर कुरा आएको छ।’ उनले अनसनमा बसेका शिक्षकहरुलाई बाहिर ल्याएर समस्या समाधान गर्ने बाटोमा अग्रसरता लिने विषयमा कुराकानी भएको बताए।
कार्यसम्पादन समितिमा अनसनरत डाक्टर तथा शिक्षकका विषयमा कुराकानी भए पनि बैठकको मुख्य एजेण्डा भने प्रदेश नम्बर-२ को स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन थियो।
बैठकको सुरुवातमै प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न आन्दोलनले सरकारलाई अप्ठेरो परेको बताएपछि बहस त्यतैतिर तानिएको थियो।
‘मूलरुपमा प्रदेश नम्बर(२को स्थानीय तह निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउनका लागि सरकार र पार्टीले गर्नुपर्ने कामका विषयमा छलफल भएको छ,’ केसीले भने, ‘त्यसबाहेक प्रदेश र प्रतिनिधिसभाको मिति र त्यसका लागि संविधानको सीमाभित्र निर्वाचन सम्पन्न गर्ने विषयमा नैं छलफल केन्द्रीत छ।’
कांग्रेस नेताहरुले प्रदेश नम्बर २का स्थानीय तहका लागि समयमै उम्मेदवार तोक्ने र आन्तरिक विवाद मिलाउन केन्द्रको सकारात्मक भूमिका खेलेर निर्वाचनका लागि वातावरण बनाउनुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यसम्पदान समिति बैठक दुई बजे पुनः बस्नेगरी स्थगित भएको छ।