PahiloPost

Jun 24, 2025 | १० असार २०८२

पश्चिमाञ्चलमा स्वाइनफ्लु : सातको मृत्यु, एक सय ४ संक्रमित, स्याङ्जामा एक साता विद्यालय बन्द



पहिलोपोस्ट

पश्चिमाञ्चलमा स्वाइनफ्लु : सातको मृत्यु, एक सय ४ संक्रमित, स्याङ्जामा एक साता विद्यालय बन्द

  • नरहरि पौड्याल
पोखराः पश्चिमाञ्चलमा स्याङ्जाको वालिङबाट सुरु भएको स्वाइनफ्लूको संक्रमणबाट एक सय भन्दा बढी प्रभावित भएको पाइएको छ। 

वर्षायाममा देखापर्ने मौसमी ईन्फ्लूएञ्जा ‘ए’एच वान एन वानबाट पोखरा लेखनाथ महानगरपालिकामा तीन जनाको मृत्यु भएको छ।
स्याङ्जाको वालिङमा एक जना र पाल्पामा तीन जनागरी ७ सात जनाको मृत्यु भएको छ। 

अकस्मात फैलिएको संक्रमणबाट पश्चिमाञ्चलमा १ सय ४ जना संक्रमित भएका जिल्ला जनस्वाथ्य कार्यालय कास्कीले जनाएको छ।

पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट उपचारार्थ आएका बिरामी मध्येबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले ईन्फ्लूएञ्जा ‘ए’ एच वान एन वानको आशंकामा परीक्षणका लागि पठाइएका २ सय २८  मध्ये १ सय ४ जनामा स्वाइनफ्लुको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिए। 

बरालका अनुसार पछिल्लो हप्ता ६० जनाको परीक्षणमा ४१ जनामा संक्रमण देखिएको छ। संक्रमित मध्ये पोखराका ३ जनाको मृत्यु भईसकेको उनले बताए। यसअघि मृत्यु भएकामा पोखरा १४ मझेरीपाटका लोचन बिक तथा पोखरा १५ नयाँ गाउँकी एक महिला र पोखरा १७ की एक महिला छन्।

उनीहरुमध्ये २ जनाको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा र एक जनाको ग्रीनसिटी अस्पतालमा मृत्यु भएको थियो।

संक्रमित मध्ये करिव ७० प्रतिशत पोखराकै संक्रमित रहेका उल्लेख गर्दै बरालले प्रभावित क्षेत्रको बारेमा अनुसन्धान भइरहेको बताए ।

स्याङ्जाको वालिङबाट सुरु भएको संक्रमण फैलिन थालेपछि स्याङ्जाका सम्पूर्ण शैक्षिक संस्था एकसाताका लागि बन्द गरिएको छ। 

त्यस्तै, पाल्पामा पनि स्वाइनफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु भईसकेको छ। त्यहाँसमेत शैक्षिक  संस्था एकसाताका लागि बन्द गरिएको छ।

चिकित्सकका अनुसार तीन प्रकारको भाइरल इन्फ्लुएञ्जा मध्ये ‘ए’, बी र सी मध्ये ‘ए’मा पर्ने एच वान ए वान संक्रमण भए संक्रमित व्यक्तिको ज्यानै पनि जानसक्छ। 

यो ईन्फ्लूएञ्जा’ए’ एच वान एन वान भाईरसलाई ‘स्वाइन् फ्लू’ पनि भनिन्छ। पहिले पहिले सुंगुरबाट सर्ने भएकाले यसलाई ‘स्वाइनफ्लू’ भनिएपनि हाल आएर मान्छेबाट मान्छेलाई नै सर्ने भएकाले यसलाई मौसमी रुघाखोकी भन्न थालिएको बरालले बताए।

एक सय डिग्री भन्दा बढी ज्वरो लगातार आइरहे वा रुघाखोकी लागेको बिरामीलाई बिना टिकट लाईन नबसी जाँच्ने व्यवस्था मिलाएको बरालले बताए। 

मौसमी रुघाखोकीको आशंका लागेका बिरामीको रगत जाँच्ने प्रविधी पोखरामा छैन।  शंकास्पद विरामीको नमूना जम्मा गरी काठमाडौं पठाउने गरिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell