काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशी डिआइजीमा बढुवा भएपछि अब परिसर सम्हाल्न नयाँ एसएसपी आउने तयारी तीब्र रुपमा भइरहेको छ। त्यसैले यतिखेर प्रहरी संगठनभित्र पनि काठमाडौंको प्रहरी प्रमुख को हुने भन्ने विषय चर्चामा रहन थालेको छ। राजधानी समेत रहेको काठमाडौंमा प्रहरी प्रमुख हुने रहर धेरै प्रहरी अधिकृतमा हुनु स्वभाविक हो। तर, रहरलेमात्र जिम्मेवारी पाउने सम्भावना छैन।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गृहमन्त्री हुँदा तात्कालीन प्रहरी प्रमुख आइजी उपेन्द्रकान्त अर्यालसँग उनको चर्को विवाद यही विषयमा थियो – कसलाई काठमाडौं प्रहरी प्रमुख बनाउने? विवादले चरम रुप लिँदा देशभरकै एसएसपी सुरुवा प्रभावित बनेको इतिहास नजिकैको हो। गृहमन्त्री निकट एसएसपी छविलाल जोशी अन्तत: विवादकै बीच काठमाडौंको प्रहरी प्रमुख भएका थिए।
छविलाल जोशी डिआइजी भएपछि अहिले एसएसपीहरु मध्ये केही आफुलाई काठमाडौंको प्रहरी प्रमुख बनाउन भन्दै शक्ति केन्द्र धाउन थालेको प्रहरी स्रोतको दावी छ। अवसर र चुनौती दुवै दृष्टिकोणमा काठमाडौं प्रहरी प्रमुखलाई आकर्षक मानिन्छ।
अगाडि धानुक
एसएसपी रविन्द्र धानुक काठमाडौंको प्रहरी प्रमुख हुनेमध्ये सबैभन्दा अगाडि देखिएका छन्। धानुक यसअघि रुपन्देहीका जिल्लामा प्रहरी प्रमुख भइसकेका अफिसर हुन्। गृहमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवा दुवैका विश्वास पात्रसमेत हुन् धानुक।रुकुमको प्रहरी प्रमुख हुँदा एसएसपी धानुक र हालका गृहमन्त्री शर्मासँग नजिकिएका थिए। प्रधानमन्त्री र गृहमन्त्रीबीच धानुकलाई नै प्रमुख बनाएर पठाउने लगभग पक्कापक्की भएको गृह स्रोतले समेत बताएको छ । प्रहरी प्रमुख आइजी प्रकाश अर्याल भने यो विषयमा गृहमन्त्री र प्रधानमन्त्री विपरित गएर निर्णय गर्ने हैसियतमा छैनन् । धानुक बाहेका प्रमुख हुन एसएसपी केदार न्यौपाने पनि कसरतमा छन्। अन्य केही प्रहरी अधिकृत पनि यो दौडमा नभएका होइनन् तर सम्भावना कम देखिएको छ।
यद्ययि रात रह्यो अग्राख पलायो भन्ने उखान पटकपटक चरितार्थ हुने नेपालमा अन्तिममा के हुन्छ यसै भन्न सकिन्न।