PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

डा. केसीको स्वास्थ्य खतरामा : डाक्टरहरु नै भन्छन्, ‘जे पनि हुन सक्छ’



सागर बुढाथोकी

डा. केसीको स्वास्थ्य खतरामा : डाक्टरहरु नै भन्छन्, ‘जे पनि हुन सक्छ’

काठमाडौ : प्राध्यापक डाक्टर गोविन्द केसी अनसन बसेको १६ दिन पुगिसकेको छ। उनको उपचारमा संलग्न डा. डिब्या सिंह साहका अनुसार केसी अत्यन्तै ‘क्रिटिकल’ अवस्थामा पुगिसकेका छन्।

केसीको शरीर गल्दै गएकाले मिर्गौला, फोक्सो कलेजो र मुटुजस्ता अंगहरुमा जुनसुकै बेला गम्भीर खतरा हुन सक्‍ने साहको तर्क छ। महत्वपूर्ण अंगहरु सञ्चालन गर्न आवश्यक पर्ने इलोक्टोलाइड र अक्सिजन कम हुँदै गएकाले जुनसुकै बेला जे पनि  हुनसक्‍ने उनले बताइन्।

अहिले केसी बोल्न सक्दैनन्। कोल्टो समेत अरुले फेराइदिनुपर्छ। स्वास्थ्यकर्मीको टोली उनको हेरचाहमा तैनाथ छन्। भेट्न आउने शुभेच्कहरु परैबाट अभिवादन गरेर फर्किन्छन्। केसी न त केही संकेत गर्न सक्छन् न त कुनै इसारा नै। आएका शुभेच्छकलाई हेर्नसमेत उनलाई सकस छ।
केसीको माग पूरा गर्न सरकारी टोलीसँग ६ पटक वार्ता भइसकेको छ। सबै वार्ता बिना निष्कर्ष टुङ्गिएको छ। चिकित्सा शिक्षा ऐनको केही दफाहरुमा सरकारी टोलीले आपत्ती जनाएपछि आजसम्मका वार्ता बिना निष्कर्ष टुङ्गिएका हुन्।

अनसनस्थलमा भेटिएका डाक्टर वाइपी सिंहले भने, ‘डा केसीको अवस्था हामीले सबैलाई जानकारी गराएका छौं। पटक—पटकको वार्ता बिना निष्कर्ष सकिन्छ। उहाँहरु वास्तविक माग पूरा गर्ने पक्षमा हुनुहुन्न। केसी माग पूरा नभए अनसन स्थगित गर्ने अवस्थामा हुनुहुन्न। यस्तै हो भने उहाँलाई जे पनि हुनसक्छ।’

डा सिंहका अनुसार केसीको रक्तचाप घट्दै गएको छ।  सेता रक्तसेल र सुगरको मात्रा घटेकाले पनि उनी खतरामा छन्। 

केसीको पक्षमा समर्थन

केसीको अनसनको १६ दिनसम्म आइपुग्दा सरकार पनि दबाबमा छ। विवेकशील साझा पार्टीले सडक र्‍याली गरिरहेको छ। केसीले अनसन सुरु गरेदेखि माइतीघर मण्डलामा स्वतन्त्र युवाहरुले रिले अनसन बसेर उनको मुद्दामा ऐक्यवद्धता जाहेर गरिरेहका छन्।

नागरिक समूहका अगुवा केसीलाई सर्मथन गर्दै सडकमा आएका छन्। पूर्व प्रधानन्यायाधीश शुसीला कार्कीले समेत सडकमै उत्रेर उनको समर्थनमा अभिव्यक्ति दिइन्। 

आइओएमका विद्यार्थीहरुले दिनहुजसो विभिन्न र्‍यालीहरु गरिरहेका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ समेत केसीको सर्मथनमा र्‍यालीमा उत्रिएको छ।

तर, पनि सरकार डा. केसीको माग पूरा गर्न सकरात्मक रुपमा अघि नबढेको डा सिहंको आरोप छ।

कुन विषयमा कुरा मिलेको छैन ?

चिकित्सा शिक्षा ऐनको अधिकांश महत्वपूर्ण दफाहरुमा सांसदहरुले संशोधन दर्ता गराएका छन्। डेढ वर्षदेखि बनेको चिकित्सा शिक्षा विधेएक १ वर्षदेखि संसदमा छ। केसीको मागको मर्म विपरित संशोधन परेकाले डा केसी अनसनमा छन्।

उक्त विधेएक संशोधन भए केसी अनसन नत्याग्ने अडानमा छन् भने सांसदहरु संशोधन गरेर ऐन पास गर्ने पक्षमा छन्। केसी अनसन बस्नुको मुख्य कारण र पटक पटक वार्ता बिना निष्कर्ष टुङ्गिनुको कारण पनि यही हो।

अब के हुन्छ त ?

डा केसी पक्षका वार्ता टोलीका अर्का डाक्टर अभिषेक सिंह सरकारी तर्फबाट अहिले वार्तामा नबोलाएको बताए। सिंहका अनुसार डा केसी आफ्नो मागमा सम्झौता गर्ने पक्षमा छैनन्। सरकारी टोलीले बिना योजना वार्तामा बोलाउने भएकाले कुनै ठोस निर्णय हुँदैन।

‘केही निकास निकाल्न र डा केसीलाई खतराबाट जोगाउनको लागि वार्ता टोलीको भर हैन सरकारले नै केही उपाय अपनाउनुपर्छ,’ डा सिहंले भने, ‘उहाँको जायज माग पूरा गर्न सरकारले यसरी नै ढिला गर्ने हो भने डा केसीको पक्षमा अझै धेरै जनताहरु सडकमा आउँछन्। सरकारलाई अफ्ठ्यारो पर्न सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell