PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

पूर्वमा पनि स्क्रब टाइफसको संक्रमण बढ्दो, धनकुटामा एक बालिकाको मृत्यु



रासस

पूर्वमा पनि स्क्रब टाइफसको संक्रमण बढ्दो, धनकुटामा एक बालिकाको मृत्यु

इटहरी : पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा स्क्रब टाइफस तथा स्वाइनफ्लुको संक्रमण बढिरहेको पाइएको छ। 

केही दिन अघि धनकुटामा स्क्रब टाइफसबाट एक बालिकाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ। 

धनकुटा जिल्लामै अन्य तीन जना बिरामीमा पनि यो रोगको जीवाणु देखा परेपछि जिल्लाभर सर्वसाधारणमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ।

खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका तथा पाख्रिबास नगरपालिका क्षेत्रमा यो रोग देखापरेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ। 

स्क्रब टाइफस रोगबाट धनकुटाको साविक छिन्ताङ–२ की ८ वर्षीया बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन दिनअघि ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा नारायण भट्टराईले जानकारी दिए। 

उनका अनुसार धनकुटाकै पाख्रिबास क्षेत्रमा अहिलेसम्म तीन जनामा स्क्रब टाइफस रोग देखापरेको उपचारका क्रममा पत्ता लागेको छ। 

धनकुटा जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएका दुई बालक र एक बालिकामा यो रोगको लक्षण पाइएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट दिए। 

स्क्रब टाइफसको लक्षण देखा परेका सबै बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइएको र उनीहरुको उच्च सतर्कताका साथ उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ। बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो रोगबाट उनीहरु बढी प्रभावित हुने खतरा रहने गर्छ। 

मुसामा हुने किर्नाले मानिसलाई टोकेपछि उक्त रोग सर्ने प्रतिष्ठानका प्रवक्ता डा भट्टराईले बताए। अत्यधिक ज्वरो आउने, श्वासप्रश्वासको समस्या जस्ता लक्षण देखिएमा तत्काल चिकित्सकसँग सम्पर्क गर्न र अस्पतालमा उपचारार्थ आउने पनि प्रतिष्ठानले सूचित गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell