काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीहरुको प्रतिभा मर्न नदिने बताएका छन्। मंगलबार हरिहर भवनस्थित आफ्नै निवासमा दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदकधारी खेलाडीको सम्मान कार्यक्रममा मन्त्री केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका हुन्।
मन्त्री केसीले नेपालको पहिलो पदक विजेता जितबहादुर केसी, सागका कीर्तिमानी पदक विजेता बैकुण्ड मानन्धर, पहिलो पटक छनोट चरण पार गरेर ओलम्पिन खेल्ने संगिना वैद्य, ओलम्पियन गौरिका सिंह र फुपुल्यामु खत्री, फुटबलरद्वय मणिविक्रम शाह र हरी खड्कालगायतलाई सम्मान गरे।
उनले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउँदै भने– ‘खेलकुदमा धेरै राजनीति हुन्छ भनेको सुनेकोछ छु। म त्यो हुन दिन्न। तपाईं खेलाडीहरु कडा परिश्रम र मेहनतबाट यो अवस्थामा आइपुग्नु भएको छ। तपार्ईंहरुको हौसला र उर्जालाई विभेद, अन्याय र राजनीतिका कारण कुनै पनि हालतमा मर्न दिन्न।’
उनले १३औं दक्षिण एसियाली खेलकुदको मुख्य चुनौती पूर्वाधार भएको बताउँदै खेलकुदका पूर्वाधार भएका अन्य निकायसंग पनि जानकारी लिइरहेको बताए।
‘१३औं सागको तयारीका लागि धेरै समय छैन। यसको मुख्य चुनौती पूर्वाधार नै हो। त्यसै त हामीसँग कम पूर्वाधार छन्। भएका पूर्वाधार पनि भूकम्पले क्षति पुर्याएको छ। पूर्वाधारका सम्बन्धमा सुरक्षा निकायमा रहेका खेलकुदका पूर्वाधारका बारेमा पनि जानकारी लिने प्रयासमा छु। पोखरालाई पनि ध्यानमा राखिएको छ।
उनले आफू कांग्रेस भएपनि कांग्रेसलाई सहयोग गर्न नभइ समग्र खेलकुदको विकास र खेलाडीको हितमा काम गर्न आएको बताउँदै आफ्नो कारणले खेलाडीको शिर झुक्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले खेलाडीको वृत्ति विकास र सम्मान कसरी हुन सक्छ त्यसमा विषयमा सकारात्मक सुझाव दिन पनि खेलाडीलाई अग्राह गरे।
यस्तै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सीमित वातावरणमा पनि खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउने काम गरिरहेको बताउँदै राष्ट्रलाई चिनाउने धेरै क्षेत्रमध्ये खेलकुद अग्रपंक्तिमा रहेको धारणा व्यक्त गरे। उनले कार्यक्रममा सिनियर खेलाडी भेट्न पाउदा अत्यन्तै खुशी लागेको बताउँदै उचित वातावरण पाउने हो भने नेपाली खेलाडीसंग ठूलो फ्डको मार्ने क्षमता भएको बताए।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्भवतः इतिहासमै पहिलो पटक विभागीय मन्त्रीले खेलाडीलाई स्वयं भेट्न बोलाएकोमा मन्त्रीप्रति आभार प्रकट गर्दै यसले खेलाडीको दर्जा माथि छ भन्ने संकेत गरेको बताए। उनले खेलाडीले हासिल गरेको पदकको वर्गिकरण गरी शिक्षा, स्वास्थ्य, यातातमा सामाजिक सुरक्षाको व्यवस्था हुनु पर्ने माग राख्दै खेल र खेलाडीलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री केसीलाई आग्रह गरे।
सागका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरले १३ औं सागलाई सफलतापूर्वक सम्पन्न गर्न चाँडो भन्दो चाँडो पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिदै विभागीय मन्त्रीले भेट्न बोलाउदा गौरव महसुश भएको बताए।
खेलाडी संघका पूर्व अध्यक्ष एवं सागका कीर्तिमानी चार स्वर्ण विजेता तेक्वान्दोका दीपक विष्टले खेलाडी सुविधा कार्यविधीमा समावेश गरिएको खेलाडीको सुविधाका विषयमा जानकारी गराउदै कार्यविधिलाई क्याबिनेटबाट पारित गराइदिन आग्रह गरे त।
कार्यक्रम नयाँदेखि पुराना पुस्ताका पदक विजेता खेलाडीलगायतको उपस्थिति रहेको थियो। उनीहरुलाई मन्त्री केसी र बस्नेतले खादा र टीका लगाइ स्वागत गरेका थिए।
फोटो : राखेप