काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीले मात्रै जित्नसक्ने अहिलेको निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका छन्।
मंगलबार दिउसो ललितपुरमा नेकपा माओवादी केन्द्र प्रदेश नं.–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुको प्रशिक्षणात्मक बैठकमा अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले गरीब, उत्पीडितहरुले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन्।
प्रचण्डले भने, ‘भर्खरै ६ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। एउटा गाउँपालिका जित्न ४/५ करोड खर्च भएको छ, यो सामान्य कुरा होइन। बिहान बेलुका छाक टार्न मुस्किलहुनेहरु क्षमता र जनविश्वास भएर पनि निर्वाचन जित्न सक्दैनन्। यो धनीले मात्र जित्ने र प्रतिभा एवं जनसमर्थन भएर पनि गरीबले हार्ने निर्वाचन प्रणाली हो। यसलाई बदल्नुको बिकल्प छैन। पार्टीहरुबीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र बिकृतिलाई रोक्न सक्छ।’
प्रशिक्षणमा अध्यक्ष प्रचण्डले माओवादी र देशभक्तहरुको एकताको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने बताए। उनले भने, ‘हामी निर्वाचन लड्यौं, बाबुरामजी, वैद्यजीहरु पनि चुनाव लड्नुभयो, विप्लवजीहरु हामीलाई हराउनकै लागि भएपनि चुनाव लड्नुभयो। तर, जनताले उहाँहरु सबैलाई तिमीहरु माओवादी नै हो, माओवादी केन्द्रसँग मिल भन्ने जनादेश दिए। हामीलाई पनि जनताले तिमीहरु एक्लैले हुँदैन, एकताका लागि पहल गर भन्ने सन्देश दिएका छन्। जनताको यो आवाजलाई बुझेर सबै माओवादी धारा र देशभक्तहरु एक हुनुको बिकल्प छैन।’
भर्खरै सम्पन्न सचिवालय बैठकले लिएका निर्णयबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले भने, ‘सचिवालयको बैठकमा परिस्थितिको गम्भीर समीक्षा गरिएको छ। हाम्रो मूल समस्या वैचारिक अस्पष्टता र संगठनात्मक समस्या नै हो। अब हामीले पार्टीको मूखपत्र प्रकाशनलाई व्यवस्थित पार्छाैं, पार्टीको आधिकारिक धारणा बोकेको पत्रिका प्रकाशन गर्छाैं, पार्टी स्कूल सञ्चालन गर्छाैं र पार्टीमा विचारधारात्मक स्पष्टता हासिल गर्छौं। विचारमा धारिलो भएपछि संगठनलाई गतिशील बनाउन सकिन्छ । त्यस दिशातिर गम्भीर पहल लिन आवश्यक छ।’
उनले माओवादी नभएको भए स्थानीय तह र निर्वाचन दुवै नहुने बताए।
उनले भने, ‘हामी नभएको भए स्थानीय तह हुँदैनथ्यो, निर्वाचन पनि हुँदैनथ्यो। अहिले स्थानीय तह र निर्वाचन भएको छ। तर, यसलाई उल्टाउने षड्यन्त्र पनि भइरहेको छ। उनीहरुको शक्ति पुग्यो भने संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउँछन्। धर्मनिरपेक्षता उल्टाउने कोशिस भइरहेको छ। यो उल्टियो भने यसकै डिब्बामा बसेर गणतन्त्र उल्टाउने कोशिस हुनेछ।’