
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभानमा मंगलबार रातिको अविरल बर्षाका कारण गएको पहिरोले १३ घर बगाएको छ।
अविरल बर्षासँगै आएको पहिरोले रिभानका हुम्दी, डाँडागाउँ र लाम्पाटाका १३ घरमा पूर्ण रुपमा क्षति पुर्याएको हो। पहिरोले आर्थिक तथा भौतिक क्षति पुर्याए पनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
समयमै आवश्यक सूचना पाएका कारण स्थानीयहरुले सुरक्षा सतर्कता अपनाउँदा मानवीय क्षति नभएको हो। बाढीले चौपाया र अन्नपात बगाएको बताइएको छ। प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण आइसकेको छैन।
बाढीले स्थानीय देवीलाल लामिछाने, दण्ड बहादुर बिक, प्रवीण लामिछाने, गंगा बहादुर विक, प्रेम बिक, राजमान बिक, दिननाथ पौडेल, कमला परियार, नर बहादुर बिक र काजी बिकको घरमा पूर्ण क्षति पुर्याएको छ। यस्तै, दण्ड आचार्य, सन्तु लामिछाने, भक्तप्रसाद लामिछाने र हिमलाल भुषालको घर जोखिममा रहेको छ।
बाढीले हुम्दीमा रहेका २ वटा मोटरेवल पुल र बिजुलीका पोलहरु समेत समेत वगाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। बाढीबाट विस्थापित बनेकाहरु अहिले छिमेकी बस्तीहरुमा आश्रय लिएर बसेका छन्।