
सोनी इन्टरटेनमेन्ट टेलिभिजनले चर्चित कार्यक्रक दी कपिल शर्मा सोको एक वर्षे नविकरण भएको जानकारी गराएको छ। चर्चित हाँस्य कलाकार सुनिल ग्रोभर बाहिरिएपछि पहिले झै रेटिङ हासिल गर्न नसकेकाले रिन्यु हुने या नहुने भन्ने चर्चा चलेको थियो।
कार्यक्रमको नविकरण लगत्तै कपिल शर्माले वक्तव्य जारी गरेर आफ्ना दर्शकलाई धन्यवाद दिएका छन्। उनले दर्शकसँगै सोनी च्यानललाई पनि धन्यवाद दिएका छन्।
कमेडी जेनराको कार्यक्रम भएकाले कपिल शर्मा सो चर्चित छ। त्यसैले बलिउडका ठूला फिल्महरुको प्रवर्द्धनका लागि यो सो सबैभन्दा बढी केन्द्रमा रहने गर्छ।
'विश्वभरका मानिसमा हरेक सप्ताहन्तमा दी कपिल शर्मा सोले मुस्कान ल्याइदिन्छ,' सोनी टेलिभिजनका कार्यकारी उपाध्यक्ष ड्यानिस खानले भने, 'रिन्युसँगै हाम्रो सम्बन्ध थप अगाडि बढ्ने भएको छ। कपिल शर्माजस्तो क्षमतावान कलाकार पाउँदा हामी गौरवान्वित छौं।'