PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

नागासाकीमा बम आक्रमणको ७२ वर्ष पूरा, जापानी नागरिकले गरे यसरी स्मरण 



रासस

नागासाकीमा बम आक्रमणको ७२ वर्ष पूरा, जापानी नागरिकले गरे यसरी स्मरण 
फोटो श्रोतः abcnews.go.com

जापान : सन् १९४५ मा जापानको नागासाकीमा अमेरिकाले एटम बम खसाली दशौँ हजार नागरिकको ज्यान लिएको आज ७२ वर्ष पुगेको छ। 

जापानको नागासाकीमा सन् १९४५ को अगष्ट ९ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको स्मरणमा नगरमा विशेष समारोहको आयोजना गरिएको छ। 

यसअघि गत आइतबार अर्थात् अगष्ट ६ मा हिरोसीमा नगरमा पनि जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले आक्रमणको स्मरणगर्दै त्यस नरसंहारमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट हिरोसिमामा भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो। त्यस्तै, नागासाकीमा भएको बम आक्रमणमा परी ज्यान जानेको सङ्ख्या ७५ हजार रहेको बताइएको छ। 

एटम बमको विकीरणका कारण घटनास्थलमा नै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएका थिए। उनीहरुले निकै पछिसम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए। 

नागासाकी नगरमा बम खसालिएको स्थानमा प्रत्येक वर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन्। 

हिरोसीमामा जस्तै नागासाकीमा पनि बम खसालिएको स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ। उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन्। 

हिरोसिमा र नागासाकीमा भएको हमलामा जीवित रहेका केही नागरिक अहिले पनि छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell