
झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउनुपर्ने बताएका छन्।
नेकपा एमाले भद्रपुर नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान कार्यान्वयन र प्राप्त उपलब्धिलाई संस्थागत गर्न निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए।
‘एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ’, उनले भने,‘नभए पनि माघभित्र निर्वाचन गर्नैपर्छ, नत्र मुलुक ठूलो राजनीतिक र संवैधानिक संकटमा फस्छ।’
स्थानीय तह निर्वाचनमा जनसहभागिता असाधारण भएको भन्दै अध्यक्ष ओलीले राजनीतिक अभियानमा जनताको उत्साहजनक सहभागिता देखिएको र यसलाई साधारण मान्न नसकिने बताए।
आन्दोलनका क्रममा केही समस्या र मतभेद हुने भन्दै ओलीले जनताको सचेत दबाबले मुलुक अघि बढेको उल्लेख गरे। ‘नेपाललाई अघि बढ्न नदिन धेरै अवरोध भए’ अध्यक्ष ओलीले भने,‘नेपाली जनता त्यसलाई छिचोलेर अगाडि बढेका छन्।’
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र देश र जनताको पक्षमा नरहेको आरोप लगाउँदै ओलीले एमाले बहुमतमा भएको भए मुलुकले अहिलेसम्म आर्थिक समृद्धि हासिल गरिसक्ने दाबी गरे।रासस