
बेइजिङ : चीन आफ्नो प्रतिवद्धतामा कमजोर छैन र स्वाधिनता र राष्ट्रिय स्वार्थका विषयमा हार मान्दैन भन्ने भारतले बुझ्नुपर्ने विषय हो। जुन महिनामा भारतले चिनियाँ भागमा सेना पठाएको छ र त्यसयता उनीहरुको सैनिक उपस्थिति कायम छ। यो चीनको स्वाधिनतामाथि हस्तक्षेपसगै क्षेत्रीय स्थिरतासँग जोडिएको विषय हो।
दोक्लम भनेको चीनको स्वशासित क्षेत्र तिब्बतको एउटा अंग हो भन्ने भारत र अन्तर्राष्ट्रिय समुदायले स्वीकारेको कुरा हो।
यदि केही गरी चीन र भुटानबीच सीमामा उल्झन छ भने त्यो चीन र भुटानको विषय हो। यो विषयमा भारतको कुनै लेनदेन छैन। चीन भुटानलाई एक स्वतन्त्र स्वाधिन मुलुकका रुपमा सम्मान गर्छ र भारतको डि-फ्याक्टो संरक्षक हुने प्रयासलाई अस्वीकार गर्छ।
क्षेत्रकै शक्तिशाली मुलुक भएका हैसियतमा भारतको दायित्व छिमेकीसँग मनपरि तरिकाले प्रस्तुत हुन मिल्दैन चाहे त्यो कमजोर होस् या शक्तिशाली। छिमेकसँग केटाकेटीको शैलीमा व्यवहार हुनु नितान्त गलत हो।
अन्तर्राष्ट्रिय कानुनको आधारभूत मान्यता भनेको एउटा मुलुकले अर्को मुलुकको स्वाधिनतामा कुनै पनि मूल्यमा आँच आउन दिन नहुने हो।
चीनले देखाएको सहृदयताको ठीक विपरित भारतसँग केही छैन सिवाय शब्दहरु। भारतीय विदेश मन्त्री सुषमा स्वराजले भारत चीनसँग छलफल गरेर समस्या सुल्ट्याउने भनेकी छिन्- 'धैर्यता, प्रतिक्रियामा नियन्त्रण र कुटनीतिले समस्या समाधान हुनेछ।'
सत्य के हो भने भारत सेना फिर्ता गर्ने विषयमा असफलमात्र भएको छैन अनावश्यक मागहरु लिएर उत्रिएको छ जसले प्रस्ट्याउँछ उ समाधान गर्ने पक्षमा छैन।
जुलाइको अन्त्ययता ४० भन्दा बढी भारतीय सीमा सैनिक बल चीनमा छन्। भारतले चीनको नयाँ सडकबारे प्रश्न गरेको छ, तर उ आफैले पनि सडकहरु बनाइरहेको छ जहाँ भारतीय सैनिकहरु मिसिएका छन्।
भारतले शान्ति चाहिरहेको संकेत देखिएको छैन। यदि भारत शान्तिकै पक्षमा हुने थियो भने पहिले त उसका सेनाहरु चिनियाँ भूमिमा छिर्ने नै थिएनन्, त्यसो भइहालेको भए पनि कुनै शर्तविना तुरुन्तै सीमाको आफ्नो भागतिर गइहाल्थे।
भारतको चाहना हो चीन पछाडि फर्कियोस्। परिस्थिति यतिविघ्न संवेदनशील नभएको भए उसको चाहना हाँस्यास्पद हुन्थ्यो। चीन पछि सर्न सक्दैन किनकि चीन गलत छैन। चीन आफ्नो राष्ट्रिय हितबाट बाहिर जान्छ भन्ने भारतीय सोच हो भने त्यो चीनका लागि मुर्ख्याई र खतरनाक विषय हो।
चीन आफ्नो भूमिमाथिको अतिक्रमणलाई वास्ता नगरी सहमतिमा आउँछ भन्ने सोच भारतीय पक्षको हो भने त्यो गलत बुझाई हो।
आजसम्म चिनियाँ सेनाले सक्दो सद्भाव र सहनशीलता प्रदर्शन गरेका छन्। तर सहनशीलताको पनि हद हुन्छ र हरेक दिन त्यो क्रमश घट्न थाल्छ। भारतले चीनलाई कम नआँक्नु राम्रो हुन्छ। पिपुल्स लिबरेसन आर्मीको स्थापना नै मुलुकको स्वाधिनता, शान्ति र स्थिरता जोगाउनका लागि भएको हो।
चीनले आवश्यकताअनुसार आफ्नो स्वार्थको रक्षा गर्छ। भारतले सबै भ्रमहरू हटाउनुपर्दछ र विनाशकारी नतिजाहरूबाट जोगिनै पर्छ।
(चिनियाँ समाचार संस्था सिन्हवाले जारी गरेको कमेन्ट्रीको भावानुवाद।)