
चितवन : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला, नगर र गाउँमा कर्मचारी खटाएपछि यहाँ १८ हजार ६७३ मतदाता थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार, कार्यालयमा ११ हजार आठ सय ३ जना र गाउँ एवं नगरमा ६ हजार ८७० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
जिल्लाका विभिन्न ५ ठाउँमा तथा राप्ती, खैरहनी, रत्ननगर र माडि नगरपालिकामा दुई दुई ठाउँमा फोटोसहितको मतदाता नामावली दर्ता गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए।
त्यसैगरी, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एक एक ठाउँमा फोटोसहितको मतदाता नामावली दर्ता गर्ने काम भइरहेको पनि उनले जानकारी दिए।
मतदाता नामावली दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा साउन १ गतेबाट काम थालिएको हो भने गाउँ नगरमा यही साउन १५ गतेबाट फोटोसहितको मतदाता नामावली लिन थालिएको हो।
त्यस्तै गाउँ र नगरमा साउन मसान्तसम्म तथा जिल्लामा निर्वाचन घोषणा नभएसम्मका लागि फोटोसहितको मतदाता नामावली संकलन गरिने छ। यसअघि जिल्लामा तीन लाख १३ हजार तीनजना मतदाता रहेका थिए। रासस