PahiloPost

Jun 24, 2025 | १० असार २०८२

स्वास्थ्यमन्त्रीले संसदमा भने–अहिले पश्चिमाञ्चलमा देखिएको महामारी स्वाइनफ्लु होइन



पहिलोपोस्ट

स्वास्थ्यमन्त्रीले संसदमा भने–अहिले पश्चिमाञ्चलमा देखिएको महामारी स्वाइनफ्लु होइन

काठमाडौंः  स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले अहिले महामारीको रुप लिएको रोग स्वाइनफ्लु नभएको बताएका छन्। 

देशभा भइरहेको महामारीका सन्दर्भमा सांसद्हरुले उठाएको प्रश्नको जवाफ दिदै मन्त्री पोखरेलले स्वाइनफ्लुका सन्दर्भमा भ्रम चिर्न आवश्यक भएको बताए। 

‘सभामुख महोदय, स्वायनफ्लुका सन्दर्भमा जानकारी दिन यहाँ उपस्थित भएको छु। मौसमी रुघाखोकी र स्वाइनफ्लुका सन्दर्भमा भ्रम चिर्न आवश्यक भएको छ,’ स्वास्थ्यमन्त्री पोखरेलले भने, ‘चर्चा भएजस्तो यो सुगुरबाट सर्ने हैन संक्रमित मानिसबाट मानिसमा नैं सर्ने हो।’


 उनले अहिले बोलिचालीको भाषामा भनिने गरेको स्वाइनफ्लु वास्तविकतामा ‘सिजनल इन्फ्लुइन्जा’ भएको बताए। 

‘जनवरी १ देखि अगष्ट ६ सम्म ३६१ एचवानएनवान भाइरस फेला परेको छ। यही अवधिमा १० जनाको निधन भएको छ,’ मन्त्री पोखलेलले भने, ‘पोखरामा ३,  झापामा ३, स्याङजा, पाल्पालगायतका क्षेत्रमा एक–एक जना गरी १० जनाको मृत्यु भएको हो।’ उनले अन्य क्षेत्रको तुलनामा स्याङ्जामा बढी संक्रमण भएको जानकारी दिए।

उनले सबै जिल्लामा महामारी नियन्त्रणका लागि जनशक्ति परिचालन भइसकेको भन्दै जिल्लाबाट थप सहायता माग भएमा तत्काल जनशक्ति र आवश्यक स्रोत साधन उपलब्ध गराउन सक्ने अवस्थामा सरकार रहेको बताए। ‘यो रुघाखोकी हो, आवश्यक पर्ने औषधि पर्याप्त छ,’ उनले भने, ‘सवै अस्पतालमा औषधि निःशुल्क वितरण भइरहेको छ।’

उनले आवश्यकता अनुसार चिकित्सकको टोली पठाउन पनि तयार रहेको भन्दै प्रचारमा आएजस्तो नियन्त्रण बाहिर पनि नरहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell