काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालिका मृत्यु प्रकरणका विषयमा संसद्लाई जानकारी दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो बैठकमा अवरोध गरेपछि यथार्थ जानकरी गराउन सभामुखले दिएको निर्देशनका आधारमा जवाफका लागि सदनमा पुगेका गृहमन्त्री शर्माले निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएको जानकारी दिदै पछि व्यवसायीको माग अनुसार तारेखमा छाडिएको बताए।
‘दुर्गा निर्माण कम्पनीका प्रमुखलाई नियन्त्रणमा लिइ कारवाही सुरु गरिएको थियो,’ गृहमन्त्री शर्माले भने,‘तर, निर्माण व्यवसायीको माग अनुसार उनीहरुकै जिम्मामा तारेखमा छाडिएको छ।’
उनले घटनाको छानविन र पीडितको माग सम्वोधन, घटनाको कारण र दोषी पहिचानका लागि सरकारले छानविन समिति गठन गरेको बताए।‘समितिलाई १५ दिनको समय दिएको छ। गृहका शान्ति सुरक्षा महाशाखा प्रमुख दीपक काफ्लेको संयोजकत्वमा टोली गठन भएको छ।
क्षेत्रीय सडक कार्यालयका प्रमुख र प्रहरीकातर्फबाट सदस्य रहनेगरी तीन सदस्यीय समिति गठन भएको छ,’ शर्माले भने, ‘दोषीको पहिचान प्रतिवेदन प्राप्त भएपतन सदनमा जानकारी दिइनेछ।’
उनले अन्य दुर्घटना भएमा उद्धारका लागि सेनाका तीनवटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिदै प्रहरी र अन्य सुरक्षा निकायलाई पनि तयारी अवस्थामा राखिएको बताए।
‘गरुडा-४मा डिभिजन सडक कार्यालयले ठेकेदारले माटो पुर्न खनेको खाल्डौमा पानी जमेको थियो। उक्त खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा चार बालिकाको निधन भएको छ,’ मन्त्री शर्माले घट्नाबारे जानकारी दिदै भने, ‘घटना अत्यन्तै दुःखखायी भएको छ। जानकारी पाउनसाथ प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले एक बालिका तैरिएको र अन्य तीन जना खाल्डोमा रहेको अवस्थामा फेला पारेको थियो।’