PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

मेलम्ची पुगेर प्रधानमन्त्रीले भने–परियोजना निर्माण छिटो गर्नुस्, सहयोग गर्न सरकार तयार छ



रासस

मेलम्ची पुगेर प्रधानमन्त्रीले भने–परियोजना निर्माण छिटो गर्नुस्, सहयोग गर्न सरकार तयार छ

मेलम्ची : प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। 

बुधबार आयोजनाको स्थलगत निरीक्षणका लागि मेलम्ची पुगेका प्रधानमन्त्रीले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती सहयोग गर्न तयार रहेको बताए।

प्रधानमन्त्री देउवाले भने,‘काठमाडौँवासीले छिटोभन्दा छिटो शुद्ध खानेपानी पाउनुपर्यो, यही काममा तपाईंहरु लाग्नुस्।’

विभिन्न कठिनाइका बाबजुद पनि नेपालको अतिमहत्वपूर्ण परियोजनामा प्रगति भएको सुन्न पाउँदा आफूलाई खुसी लागेको बताए। 

कूल साढे २७ किलोमिटर सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ। 

दुई दशमलव १९ किलोमिटर मात्र सुरुङ खन्न बाँकी छ। हाल चार स्थानबाट सुरुङ खनिरहेको परियोजनाले दैनिक सरदर ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ। सन् २००१ बाट परियोजना निर्माण सुरु भएको हो। 

चार स्थानबाट सुरुङ खनिरहेको मध्ये तीन स्थानमा कमजोर भौगर्भिक कारण सुरुङ खन्न केही चुनौती देखिएको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए। 

कूल साढे २३ अर्ब लागत भएको परियोजनामा २२ अर्ब ३४ करोड खर्च भइसकेको परियोजनाका प्रमुख देवकोटाले जानकारी दिए। आयोजना निर्माण सन् २०१८ मार्चसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ। 

प्रधानमन्त्रीको स्थलगत निरीक्षणका क्रममा उनलाई आयोजना प्रमुख देवकोटाले आयोजनाको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell