
काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पार्टी विभाजनमा पूर्वराजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको बर्बराहट मात्र भएको बताएका छन्।
रिपोर्टर्स क्लबको साक्षात्कारमा राणाले राप्रपा प्रजातान्त्रिक गठनमा कुनैपनि बाह्य शक्तिको भूमिका नभएको बताए। आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको राणाले बताए।
‘पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने सामथ्र्य छ। नेपाली राजनीतिमा प्रभावशाली रहँदै आएका साथीहरूको साथ छ कसैको सहयोग चाहिंदैन र बहकाउमा बहकिदैन,’राणाले भने,‘कमल थापाले पार्टीका होनहार साथीहरूले महत्वपूर्ण निर्णय लिएपछि रन्थनिएर आरोप लगाइरहनुभएको छ।’
उनले मुलुकको आवश्यकता र पार्टीका जिम्मेवार कार्यकर्ताको भावना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको बताए।
नवगठित पार्टी सरकारमा जाने र त्यसबारे निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि आधिकारिक निर्णय लिइने राणाले बताए।
कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको राणाले बताए। उनले भने,‘पार्टी ध्वस्त हुनबाट बचाउनका लागि कठोर निर्णय लिएर बेग्लै बाटो जानुपर्यो ।’