PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

नेपालमा पढ्ने बेरोजगार, विदेशमा पढ्नेलाई रोजगार



सागर बुढाथोकी

नेपालमा पढ्ने बेरोजगार, विदेशमा पढ्नेलाई रोजगार

काठमाडौं: विगत चार वर्षदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजी पढ्ने विद्यार्थीहरुले लाइसेन्स पाएका छैनन्।  स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स दिन बन्द गरेपछि माइक्रोबायोलोजी पढ्ने विद्यार्थीहरुले जागिर पाउन सकेका छैनन्।

नेपाल स्वास्थ्य व्यावसायी महासंघले विभिन्न बहाना बनाएर लाइसेन्स नदिएपछि विद्यार्थीहरुले माइक्रोबायोलोजी संघर्ष समिति ४ वर्षअघि गठन गरेका थिए।

माइक्रोबायोलोजी संघर्ष समिति विगत लामो समयदेखि लाइसेन्सको माग गर्दै आन्दोलनमा छ। पटक-पटक लाइसेन्स दिन आग्रह गर्दा सम्बन्धित निकायले ध्यान नदिएपछि उनीहरु आक्रोशित भएका छन्।

उनीहरुको समस्या समाधान गर्न त्रिभुवन विश्वविद्यालय, नेपाल स्वास्थ्य परिषद् र माइक्रो बायोलोजी संघर्ष समितिले तीन-तीन सदस्यीय टोली गठन गरेको छ। तर, पटक-पटक बैठक बस्दा पनि कुनै निष्कर्ष निस्केको छैन।

माइक्रोबायोलोजीका विद्यार्थी संजिव धितालका अनुसार समस्या समाधान गर्न गठन भएको टोलीका सदस्यहरु नै बैठकमा उपस्थित भएका छैनन्। विद्याथीहरुको समस्या समाधानको लागि नेपाल स्वास्थ्य परिषद सकारात्मक नभएकाले लामो समयसम्म विद्यार्थीहरु मर्कामा परेका धिताल बताउँछन्।

नेपाल जनस्वास्थ्य प्रयोगशाला टेकुले माइक्रोबायोलोजीको लागि दरखास्त आवहान गरेपछि माइक्रोबायोलोजी सघंर्ष समितीका विद्यार्थीहरु आक्रोशित भएका छन्।

प्रयोगशाला टेकुले निकालेको दरखास्तमा लाइसेन्स भएको अर्थात एनएचपिसी मा दर्ता भएको हुनुपर्ने उल्लेख छ। 'उक्त प्रावधानले गर्दा नेपालमै बसेर पढ्नेहरुले जागिर पाएनन्। विदेशमा पढेर आउनेहरुले अवसर पाए। हामिले देशमै बसेर लाखै खर्च गर्दा बेरोजगार भयौँ।' धिताल भन्छन्, 'समानान्तर कोर्ष नेपालमा पढ्दा बेरोजगार भएर बिदेसिनुपर्ने तर, त्यही कोर्ष विदेशमा पढ्दा जागिर पाउने यहाँ केही स्वार्थी व्याक्तिहरुको कारणले यस्तो भएको छ।'

लाखौँ खर्च गरेर नेपालमा माइक्रोबायोलोजी पढ्नेहरु बेरोजगार भएका कारणा तनावमा रहेको र  अन्य जागिर खान बाध्य भएको धितालको गुनासो छ।

माइक्रोबायोलोजीमा स्नातकोत्तर सकेकी शिखा वाग्ले प्रयोगशालाले विदेशमा पढेकालाई मात्र रोजगारी दिने नियत देखाएको बताइन्।

'मैले विएस्सी गर्दादेखि दर्ताका लागि प्रयास गरिरहेकी छु अहिलेसम्म रोकिएको दर्ता खुलाइएको छैन, 'शिखाले भनिन्, 'मैले मास्टर्स सकाइसकेँ तर रोगारीका लागि सर्टिफिकेट हैन दर्ता मागिएको छ। जबकी सरकारले नै दर्ता रोकेर राखेको छ।'

 

के भन्छ स्वास्थ्य व्यावसायी परिषद?

स्वास्थ्य व्यावसायी परिषदका रजिस्टार काशी रिमाल विभिन्न प्राविधक कारणहरुले विद्यार्थीहरुले लाइसेन्स नपाएको बताउँछन् ।

'स्वास्थ्य व्वावसायी ऐनमा नै लाइसेन्स बिना रोजगारी नदिने भएकाले उनीहरुले जागिर नपाएका हुन्। उनीहरुले यो ४ वर्ष काम गर्न नपाएको सही हो ' रिमालले भने, 'त्रिविले काम गर्न बाँकी छ। परिषद र त्रिविको प्राविधिक कुरा नमिलेर ढिला भएको हो। अब कार्यदलले हुने, नहुने के निर्णय गर्छ ।'

रिमालका अनुसार अबको एक महिनामा विद्यार्थीहरुको समस्याको सुनुवाइ हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell