काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची पुगेर आयोजना सम्बन्ध समिति तथा ठेकेदारलाई जतिसक्दो छिटो आयोजना पूरा गर्न निर्देशन दिएका छन्।
बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्रधानमन्त्री देउवाले प्रगति विवरण ‘व्रिफिङ’ लिँदै जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई निर्देशन दिए।
‘मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० बर्षभन्दा पुरानो सपना हो,’ प्रधानमन्त्रीले भने, ‘अब यो आयोजनालाई जतिसक्दो छिटो पूरा गरेर त्यो सपना साकार पार्नुपर्छ।’
प्रधानमन्त्री देउवाले कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनामा मेलम्चीको पानी काठमाडौं लैजाने आयोजनाको खाका कोरिएको स्मरण गर्दै छिटो काम सम्पन्न गर्न सरकारले जुनसकैप्रकारको सहयोग गर्ने बताए।
‘छिटो काम सम्पन्न गर्न सरकारबाट के कस्ता निर्णय गर्नुपर्छ त्यसका लागि म तयार छु,’ प्रधानमन्त्रीले भने, ‘तर, कुनैपनि बहानामा ढिलाई नगर्नूहोस्, यो आयोजना काठमाडौंको सपनासँग जोडिएको छ।’
प्रधानमन्त्रीले मेलम्चीको सुरुङ खन्नमा देखिएको ढिलाईप्रति चासो व्यक्त गर्दै तोकिएको समयभित्र काम सम्पन्न नगर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए। ‘यो आयोजना राष्ट्रिय गौरवको आयोजना पनि हो,’ प्रधानमन्त्रीले भने, ‘यसलाई समयमा सम्पन्न गरेर यस बर्षकै सुक्खायाममा पानीको हाहाकार हटाउनु पर्छ।’
प्रधानमन्त्रीले मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्रता दिन सरकारले छिट्टै सहजीकरण प्रक्रियाका लागि विशेषा निर्णय गर्न लागेको भन्दै कानूनी झण्झट समेत हटाउने जानकारी दिए।
प्रधानमन्त्रीले मेलम्ची आयोजनाको इन्टेक ड्याम र सुरुङको अवलोकन पनि गरेका थिए। प्रधानमन्त्री सुरुङभित्रै पसेर पनि सुरुङको अवलोकन गरेका थिए।
परियोजनाका विषयमा प्रोजेक्ट म्यानेजर रामचन्द्र देवकोटाले प्रधानमन्त्रीलाई ब्रिफिङ् गरेका थिए।