PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सप्तरीमा सर्पले डसेर एक जनाको मृत्यु, सर्पको बिगबिगी बढेपढि गाउँले त्रसित



रासस

राजविराज : सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी बढेपछि डर, त्रास बढेको छ।

पछिलो पटक सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ मा गएराति विषालु सर्पको टोकाइबाट स्थानीय ७८ वर्षीय दुखाइ साहको मृत्यु भएको छ।

सर्पले टोकेपछि उनलाई समयमै अस्पताल पुर्याउनुको साटो धामीझाँक्रीको भर पर्दा मृत्यु भएको स्थानीयवासीले बताएका छन्। घरमा सुतिरहेका साहलाई विषालु सर्पले टोकेको थियो। 

गाउँलेको दबाबमा उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरेपनि अस्पताल ल्याउन ढिलाइ गरेको र अन्धविश्वासमा परेर गाउँमै धामीझाँक्रीको भर पर्नाले साहको ज्यान गएको चिकित्सकको भनाइ छ। 

यस्तै, गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशका घटना ह्वात्तै बढ्दा सगरमाथा अञ्चल अस्पतालमा दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ। 

यता अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेपछि एन्टीस्नेक भेनम औषधि पर्याप्त मात्रामा स्टक गरिएको अस्पताल प्रशासनले जनाएको छ । रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell