PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

झापाको बीएण्डसी अस्पतालमा स्वाइन फ्लुको उपचार गरिने



रासस

झापाको बीएण्डसी अस्पतालमा स्वाइन फ्लुको उपचार गरिने

झापा : झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ। 

स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा दिलीप शाहले जानकारी दिए। 

स्वाइन फ्लुको उपचारका लागि सरकारकातर्फबाट विशेष तालिमसमेत लिएर आएका डा शाहका अनुसार स्वाइन फ्लु लागेका बिरामीका लागि भेन्टिलेटरसहितको आइसीयु (सघन उपचार कक्ष) अनिवार्य भएकाले त्यसको पनि बेग्लै व्यवस्था गरिएको छ। 

स्वाइन फ्लुको संक्रमण भए/नभएको पत्ता लगाउने प्रविधि निकै महँगो भएकाले शंकास्पद बिरामीको नमूना संकलन गरी काठमाडौँमा रहेको केन्द्रीय प्रयोगशालामा पठाइने र त्यसले दिएको रिपोर्टको आधारमा उपाचार भने बीएण्डसी अस्पतालमा नै हुनेसमेत शाहले जानकारी दिए। 

स्वाइन फ्लुबाट जोगिनका लागि अग्रीम खोप पनि लगाउन सकिने र उक्त खोप पनि बीएण्डसी अस्पतालले भोलिदेखि नै प्रयोगमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए। 

स्वाइन फ्लुको संक्रमणको जोखिम बढेसँगै झापामा त्यसको उपचारका लागि बीएण्डसी अस्पतालसँग सरकारीस्तरबाटै सम्झौता गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन कुलबहादुर पौडेलले बताए। 

पौडेलका अनुसार झापामा हल्ला भए जस्तो स्वाइन फ्लुको खतरा नरहेको र अवस्था सामान्य तथा नियन्त्रणमा नै रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell