काठमाडौं: अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फर्कने भएका छन्। रङ्गमञ्च हुँदै फिल्मक्षेत्रमा काम गरेका उनले ४१ वर्षपछि नेपाली रङ्गमञ्चमा फर्कन लागेका हुन्। नेपाली नाटकमा यसअघि ४१ वर्ष पहिले मात्र अभिनय गरेका उनले भारतको रङ्गमञ्चमा भने ३६ वर्ष अघिसम्म पनि सक्रियता जनाएका थिए। सुलक्षण भारतीको निर्देशन रहने नाटक ‘लाटीको छोरो’मार्फत उनी मञ्चमा फर्कन लागेका हुन्।
‘समय व्यस्तताका कारण चाहेर पनि म नाटकमा फर्किन सकिरहेको थिईंन,’ अभिनेता पहारीले भने, ‘अहिले यो नाटकमा काम गर्न पाउनुलाई म संयोग मान्छु। नाटकमा रिहर्सल गर्न जाँदा अहिले म आफूलाई ३१/३२ वर्षको ठिटो ठानिरहेको हुन्छु। ऐनामा हेर्दामात्र बुढो भएको महसुस हुन्छ।’ उनले नाटक प्रशिक्षणको अनुभव सुनाए।
यो नाटकमार्फत नेपाली रङ्गमञ्चमा पहिलोपल्ट प्रोडक्सन डिजाइनको अभ्यास गरिँदैछ। प्रोडक्सन डिजाइनको काम कलाकार प्रकाश दाहालले गर्दैछन्। प्रोडक्सन डिजाइनरले नाटकको सेट, लोकेसन, प्रकाश, कलाकार लगायत नाटक निर्माणका सम्पुर्ण प्रक्रियामा सिर्जनात्मक ढंगले डिजाइन गर्ने काम गर्छ। ‘डिजाइनरले निर्माता र निर्देशकबियच पुलको काम गरिरहेको हुन्छ, नाटकको प्रोडक्सनलाई पुर्ण रुपमा सफल बनाउन भुमिका खेलिरहेको हुन्छ र हामीले गर्न खोजेको यही हो,’ प्रकाशले कन्सेप्ट बारे प्रस्ट पारे।
अभिनेता पहारीले नेपाली नाटकमा हुन लागेको व्यवसायिक प्रयासका लागि खुशी व्यक्त गरे। ‘नयाँ जोश र योजनाका साथ यो टिम अघि बढेको छ,’ पहारीले भने, 'म भारतको रंगमञ्चमा काम गर्दा गुजराती र मराठी नाटकहरु व्यवसायिक थिए, भारतमा पछि मात्र भयो। यहाँ त भएकै छैन, यो नाटकबाट अभ्यास हुँदैछ।’
श्याम शाहको कथा संग्रह ‘अब्बा’बाट लिइएको कथा हो ‘लाटीको छोरो’। कथालाई निर्देशक भारतीले नाट्य परिकल्पना गरेका छन्। डोम समुदायको वस्तीमा एउटा लाटीको वरिपरी नाटकको कथा घुम्छ। वस्तीको बजारमा एकदिन लाटी गर्भवती भएको कुरा फैलिएपछि ठूलो तरंग पैदा हुन्छ। कथा बारे भारतीले जानकारी दिए। नाटकमा केनिपा सिंहले मानसिक सन्तुलन गुमाएकी बोल्न नसक्ने महिला अर्थात् लाटीको भुमिका निर्वाह गर्दैछिन्। त्यस्तै टिका पहारीले गाउँका नेता विषनाथको भुमिका निर्वाह गदैछन्। बोक्सी कहलाइएकी गाउँकी स्थानिय महिला पवित्राको भुमिकामा रंगकर्मी पशुपती राई देखिदैछिन्।
नाटक भदौ २० गतेदेखि असोज ८ गतेसम्म मण्डलामा नाटक मञ्चन हुने जानकारी दिइयो। नाटकमा अन्य कलाकार सन्दिप पौडेल, कुन्दन थारु, कुसल पाण्डे, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, पशुपति राई, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की र मेलिन पराजुलीले समेत अभिनय गर्नेछन्। नाटकको दिनमा तीनवटा शो गर्ने तयारी रहेको प्रोडक्सन डिजाइनर दाहालले बताए। ‘हामीले दुईटा बुकिङ शो र एउटा रेगुलर शो गर्ने तयारीमा छौं,’ उनले भने, ‘हामीले नाटकमा काम गर्ने सबैको पारिश्रमिक तोकेका छौं। टिकट बेचेरै नाटकबाट आम्दानी पनि गर्नेछौं र नाटकको बजार छ भनेर प्रमाणित पनि।’