
काठमाडौंः प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको १८ दिन बित्दा सत्तारुढ दलका सांसदले संसद्को ध्यानाकर्षण गराएका छन्।
संसद्को विशेष समयमा सत्तारुढ दलका सांसद्हरुले डा. केसीका जायज माग पूरा गर्न र उनको जीवन जोगाउन संसद्को ध्यानाकर्षण गराएका हुन्।
संसद्को विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद जगदिश्वरनरसिंह केसीले केसी मेडिकल शिक्षामा सुधारको एउटै माग लिएर ११औं पटक अनसन बस्नुपरेको बताए।
‘देशमा भएका विकृति अन्त्यका लागि दलहरुले र सरकारले संवेदनशील हुनु नपर्ने ? त्यही माग लिएर डाक्टर केसी ११औं पटक अनसनमा हुनुहुन्छ,’ सांसद् केसीले भने, ‘के स्वास्थ्य क्षेत्रको विकृति हटाउने जिम्मा डाक्टर केसीको मात्र हो, अरु कसैले संवेदनशील हुन पर्दैन ? सांसद् केसीले डा केसीले मेडिकल शिक्षामा रहेका विकृति हटाउनकै लागि धेरैजना प्रधानमन्त्रीसँग सम्झौता गरेको भन्दै एउटै विषयमा सधै अनसन बस्ने अवस्था आउनु दुःखद् भएको बताए।
उनले सभामुखमार्फत डाक्टर केसीका जायज माग पूरा गर्न र डाक्टर केसीको जीवन जोगाउन माग गरे।‘एउटै विषयमा पटक–पटक प्रधानमन्त्रीले सम्झौता गरेका छन् त्यसको कार्यान्वय गर्नुपर्दैन ?’ केसीले थप प्रश्न गरे, ‘चिकित्सा शिक्षाको सुधारका लागि माथेमा आयोगले दिएको प्रतिवेदन कार्यान्वय भएको खोइ ?’
सांसद् केसीले देशको विकासको अवस्था साह्रै दयनीय भएको भन्दै जताततै विकृति व्याप्त भएको बताए।
‘देशको कार्यकारी प्रमुख प्रधानमन्त्री आफैं विकास आयोजनाको अनुगमनमा निस्कनुपर्ने अवस्था नैं विकृतिको उदाहरण हो,’ सांसद केसीले भने,‘नियमित गर्नुपर्ने काम नभएर प्रधानमन्त्रीले अनुनय शैलीमा निर्देशन दिनुपर्ने दयनीय अवस्था दुःखद हो।’
सत्ता साझेदार माओवादी केन्द्रका सांसद् अग्नीप्रसाद सापकोटाले पनि डाक्टर केसीको अनसन १८ दिन पुगेको भन्दै माग पूरा गर्न सरकार संवेदनशील हुनुपर्ने बताए।‘डाक्टर केसी अनसनमा बसेको आज १८औं दिन भएको छ,’ सांसद् सापकोटाले भने, ‘डा. केसीका माग पूरा गर्न सरकार संवेदनशील बनोस।’
डाक्टर केसीका विषयमा त्यति मात्र बोलेका सापकोटाले भ्रष्टाचारले देश चुर्लुम्मै डुबेको भन्दै चिन्ता व्यक्त गरे। ‘भ्रष्टाचारको संस्कृतिले देशमा भ्रष्टाचार कहाँ छ भनेर हैन कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था भएको छ,’ सापकोटाले भने, ‘नेपाल आयल निगमका पदाधिकारी हुन वा कर फर्स्यौट आयोगका पदाधिकारी हुन्।
त्यति ठूलो भ्रष्टाचार गर्ने आँट तिनीहरुलाई कहाँबाट आयो?’ उनले परिवर्तन उल्टाउन चाहनेहरुले देशलाई व्यवस्थित हुन नदिइरहेको भन्दै भ्रष्टाचार त्यसको सहयोगी भइरहेको बताए। ‘भ्रष्टाचार भएको मुलुकमा स्वतन्त्रता धेरै समय टिक्दैन,’ सापकोटाले विद्वानको भनाई कोट गर्दै भने।
प्रमुख प्रतिपक्ष मौन
प्रमुख प्रतिपक्षी दलकातर्फबाट आजको संसद्को विशेष समयमा बोलेका सांसद् अग्नीप्रसाद खरेलले डाक्टर केसीका विषयमा बोलेनन्। उनले संविधान कार्यान्वयनमा सरकार संवेदनशील नभएको आरोप लगाउँदै यो सरकारलाई काम गर्नेसमेत नआउने बताए।‘कानुन मन्त्राललयको तथ्यांकले भन्छ, केपी ओली सरकारकापालामा ३६ वटा कानुनका मस्यौदा बनेका थिए,’ खरेलले भने, ‘यो सरकार तिनै विधेयकलाई ओल्टाइ(पल्टाइ गरिरहेको छ। पछिल्लो वर्ष जम्मा १४ वटा कानुनका मस्यौदा मात्र संसदमा सरकारले ल्याएका छन्।’
सापकोटाले नयाँ संविधान कार्यान्वयका लागि एक सय ३८ नयाँ कानुन बनाउनुपर्नेमा अहलेसम्म ५० वटा कानुन मात्र संसद्मा आएको भन्दै सरकार संविधान कार्यान्वयमा संवेदनशील नभएको बताए। ‘यो सरकारलाई कुर्सीमा बस्न मात्र आउँछ काम गर्न आउँदैन,’ खरेलले भने।
उनले निर्वाचन क्षेत्र निर्धारण आयोगको कामकारवाही पनि प्रश्न उठाए।‘संविधानले जनसंख्या र भौगोलिक विशिष्टताका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न भनेको छ। तर आयोगले ९० र १० प्रतिसत पन मानिरहेको छैन भन्ने सुनिदैछ,’ खरेलले प्रश्न गरे भने,‘विशिष्टता भनेको के हो ? यदि संविधानको मर्मविपरित काम भएमा त्यसलाई मान्न सकिदैन।’