
काठमाडौँ : नेकपा एमालेले प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि पार्टीका केन्द्रीय नेताहरुलाई परिचालन गरेको छ।
महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रदेश नं २ का आठवटै जिल्लाको स्थानीय तहको निर्वाचनको तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै अहिलेसम्मको परिचालन उत्साहजनक भएको ठहर गरेको छ।
पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार ती जिल्लामा एमालेमा प्रवेशको माहोल सिर्जना भएको र भेला, बैठक, छलफल, अन्तक्र्रियालगायत गतिविधि तीव्र ढङ्गले अगाडि बढिरहेको जनाइएको छ।
बैठकले पार्टीका केन्द्रीय नेताहरु, सांसदहरु, अन्य प्रदेशमा जितेका स्थानीय जनप्रतिनिधि, मोर्चा संगठनका नेतालगायतलाई प्रदेश नं २ को निर्वाचनमा सहयोग गर्न ठोस जिम्मेवारीसहित खटाउने निर्णय गरेको छ।
‘प्रदेश नं २ का सबै पार्टी कमिटी, जनसंगठन, पार्टी कार्यकर्ता र सदस्यहरुलाई उच्च मनोबल र आत्मविश्वासका साथ निर्वाचनको तयारीमा जुट्न र पार्टीलाई बहुमतसहित पहिलो पार्टीका रुपमा स्थापित गर्न दृढताका साथ अघि बढ्न बैठकले निर्देशन गरेको छ’, विज्ञप्तिमा भनिएको छ। रासस