PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

एमाले सांसदको प्रश्न : डाक्टर गोविन्द केसीले गर्न खोजेको के? मन्त्री भन्छन् : संसदलेमात्रै सक्छ अनसन रोक्न



सागर बुढाथोकी

एमाले सांसदको प्रश्न : डाक्टर गोविन्द केसीले गर्न खोजेको के? मन्त्री भन्छन् : संसदलेमात्रै सक्छ अनसन रोक्न

काठमाडौं :  'डाक्टर ‍केसीजस्तै आर्मीको कमान्डर अनसन बस्ला, पुलिसको कमान्डर अनसन बस्ला, भोलि अरु कोही केही माग राखेर अनसन बस्ला, सबैको माग पूरा गरेर सम्भव हुन्छ? डा ‍केसीले गर्न खोजेके के हो?'

सामाजिक न्याय तथा मानवअधिकार समितिले  संसद सचिवालय सिंहदरबारमा बोलाएको बैठकमा एमाले सासंद चन्द्र बहादुर गुरुङले आक्रोसित हुँदै अभिव्यक्ति दिए।

प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था, जीवन रक्षा र सरकारले चालिरहेको कदम बारे छलफल गर्न बोलाएको बैठकमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेल र शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ  लगायत सरोकारवालाहरुको उपस्थिति थियो। 
डा. केसीको अनसनको पक्ष र विपक्षमा सांसदहरुले आफ्नो विचार राखेका थिए। धेरै सांसहरुले डा. केसीको स्वास्थ्यलाई ख्याल राख्दै सरकारले उनको माग तत्काल पूरा गर्नुपर्ने जोड दिएका थिए।

उक्त छलफलमा डा. केसीको माग पूरा गर्न सबै सरोकारवालासँग छलफल भइरहेको शिक्षा मन्त्री श्रेष्ठले बताए।

स्वास्थ्य मन्त्री पोखरेलले डा. केसीको माग पूरा गर्न आफु सकरात्मक रहे पनि सांसदको क्षेत्र अधिकारभित्र रहेकाले केही गर्न नसक्ने बताए। उनले भने , 'हामीले डा. केसीले कहिल्यै अनसन बस्नु नपर्ने गरी सधैंका लागि अनसन अन्त्य गर्न लागेका हौं। त्यसको लागि उहाँले अहिले अनसन स्थगित गर्नुपर्छ। तर, मान्नुभएको छैन्।'

प्राध्यापक केसीका कुन माग पूरा गर्न सकिने र कुन नसकिने त्यसमा सरकार प्रष्ट हुनुपर्ने बैठकमा उपस्थित सदस्यहरुले बताएका थिए। डा.  केसीको मागमा लामो समयसम्म सरकार अलमलमा परेर चासो नदिँदा जनतामा नराम्रो सन्देश गएको उनीहरुले तर्क गरे।

उपस्थित सदस्यहरुले डा. केसीको स्वास्थ्य अवस्था खतरामा रहेकाले सरकारले चाँडै उनको  माग पूरा गर्नुपर्नेमा जोड दिए।

जवाफमा शिक्षा मन्त्री श्रेष्ठले सबै सरोकारवाला पक्षहरुसँग छलफल र ससंदले नै निर्णय गर्ने भएकाले डा. केसीको स्वास्थ्यमा ध्यान राख्दै सरकारले चाँडै निकास निकाल्नुपर्ने बताए।


स्वास्थ्य मन्त्री र शिक्षा मन्त्री अनसन स्थगनको पक्षमा

बैठकमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पोखरेलले  चिकित्सा शिक्षा ऐनको दफा १२ र १३ मा विवाद आएकाले अहिलेसम्म डा. केसीको माग पूरा गर्न नसकेको बताए। सरोकारवाला पक्षहरुसँग पटक पटक बैठक बस्दा पनि निष्कर्ष निकाल्न नसकेको उनको तर्क छ।

मन्त्री पोखरेलले भने, 'माथेमा आयोगको प्रतिवदेनको मर्म अनुसार ऐन पास हुन लामो छलफल आवश्यक छ। त्यसैले डा. केसीले अनसन स्थगित गर्नुपर्छ। उहाँको मागको बारेमा संसदमा छलफल हुन्छ। '

शिक्षा मन्त्री श्रेष्ठले उनको माग अत्यन्तै सम्वेदनशील र लामो छलफलको विषय भएकाले अनसन स्थगित गरेर छलफलको लागि बाटो खुलाइदिनुपर्नेमा जोड दिए। उनले भने, 'एक महिनाको समय दिनुस् हामी उहाँको माग सबै पूरा गर्छौं। सबैले काम गरिरहेका छन्। जटिल विषयमा छलफल गर्नैपर्छ। त्यसैले डा केसीले स्वास्थ्यलाई ख्याल राख्दै अनसन स्थगित गर्नुपर्छ।'


के भयो बैठकको निर्णय

लामो छलफलपछि सामाजिक न्याय तथा मानवअधिकार समितिले  सरकारलाई केसीको स्वास्थ्यलाई ध्यानमा राख्दै माग तत्काल पूरा गर्न निर्देशन दिएको छ। तर,  स्वास्थ्य मन्त्री तथा शिक्षा मन्त्रीले डा. केसीको माग पूरा गर्ने अधिकार संसदसँग रहेकाले आफूहरुले पहल मात्र गर्नर सक्ने बताए।

डा. केसी अनसन बसेको आज १८ दिन भइसकेको छ। उनको स्वास्थ्य अत्यन्तै नाजुक भइसकेको डा. केसीलाइ नियमित जाच गरिरहेकी डा. दिव्या सिंह साहले बताइन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell