PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सप्तरीको खाँडो खोलामा आएको बाढीले गर्‍यो बाँध कटान, एक बेपत्ता



रासस

सप्तरीको खाँडो खोलामा आएको बाढीले गर्‍यो बाँध कटान, एक बेपत्ता

सप्तरी :  पूर्वी पहाडी जिल्लामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आएको बाढीले राजविराज नगरपालिका–१५ स्थित देउरी भरुवामा निर्माण गरिएको बाँध कटान गरेको छ। यसैवर्ष खाँडो खोला आयोजनाले सो बाँध निर्माण गरेको थियो। 

आज आएको बाढी नियन्त्रणमा खटिएका एक स्थानीय बासिन्दा बेपत्ता भएको प्रहरीले जनाएको छ। देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणमा प्रहरी र नेपाली सेनासँगै लागेका स्थानीयवासी ६० वर्षीय डोमी यादव बाँधको ढिस्कोमा पुरिएर बेपत्ता भएका हुन्। उनी खोलामा बेपत्ता रहेकाले सेना, प्रहरी र स्थानीयवासीले खोजी जारी राखेको छ। 

राजविराज नगरपालिका–१०, विरौल भन्ने स्थानमा बाढीले बाँध भत्काएको छ। खाँडो खोलाको बालुवा र माटोले बनाइएको बाँधलाई कटान गरेर बस्तीमा पस्ने डरले स्थानीयवासी त्रस्त भएका छन्।

स्थानीय बासिन्दा अहिले सुरक्षित स्थानको खोजीमा लागेका छन् भने बाँध भत्काएसँगै राजविराजको विरौल, डुम्रीशिवथान, कजोली, दिघवा, तोपा, मनसापुर, सकरपुरा, लोनीया, तिलाठी लगायतका गाउँ डुबान पर्ने खतरामा रहेको छ। 

त्यसैगरी, मोहुली खोलामासमेत बाढी आएका कारण स्थानीय बासिन्दा चिन्तित भएका छन्।  यसैबीच, कोशी नदीमा आएको बाढीका कारण पानीको बहाव तीव्र भएपछि कोशी ब्यारेजमा रहेको ५७ वटा ढोकामध्ये ३० वटा खुला गरिएको छ।

कोशी नदी नजिकै रहेको सुनसरीको हुपुर, श्रीपुर, पश्चिम कुशाहा लगायतका ग्रामीण क्षेत्र जलमग्न भएका छन्। पूर्व–पश्चिम राजमार्गको सडक छेउमासमेत पानी पसेको स्थानीय बासिन्दाले बताएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell