काठमाडौं: फिल्म ‘संरक्षण’को बुधबार चितवनमा प्रिमियर भएको छ। भरतपूरको जल्मा हलमा आयोजना भएको रेड कार्पेट प्रिमियरमा अभिनेत्री मलिना जोशी र नकर्मी, निर्माता प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, निर्देशक पूर्णेन्दु झा, कलाकारहरु नन्दु श्री वास्तव, प्रमोद अग्रहरी, राज कटुवाल, सुसान्त श्रेष्ठ लगायत उपस्थिति रहेको थियो।
फिल्म यहिं शुक्रबार साउन २७ गतेदेखि प्रदर्शनमा आउँदै छ। फिल्म एकसाथ देशभरका ७५ सिनेमा घरहरुबाट प्रदर्शनमा आउने निर्देशक पूर्णेन्दु झाले जानकारी दिए।
संरक्षणले जन आन्दोलन २०६२/६३ पछि सिर्जना भएको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा हो। जहाँ पहाडी, मधेशी र थारु समुदाय बिचको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्धलाई चित्रण गरिएको बताइएको छ। फिल्मको सेटिङ मधेस हो।
फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अगरहरी, कामेश्वर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, निर्देश श्रीवास्तव, राज कटुवाल तथा सुशान्त श्रेष्ठको अभिनय रहेको छ। फिल्मको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झाले लेखेका हुन्। डाक्टर कृष्ण हरि बराल, दर्मेंद्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको फिल्मको गीतलाई प्रभेस मलिकले संगीत दिएका छन्। संरक्षणलाई पुरुषोत्तम प्रधानकले खिचेका हुन्।