PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

दुग्ध उद्योगबाट मनग्य आम्दानी



रासस

दुग्ध उद्योगबाट मनग्य आम्दानी

तेह्रथुम : मेहनत गरे स्वदेशमा पनि थोरै लगानीबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् लालीगुराँस नगरपालिका–१, वसन्तपुर टुटेका विष्णुमाया लिम्बू।

उनले घरैमा सञ्चालन गरेको वसन्त खाद्य उद्योगले उनलाई आर्थिक रुपमा सबल मात्रै बनाएको छैन, जिल्लामै सफल उद्यमी महिलाका रुपमा समेत चिनाएको छ। 

उनले मासिक ३० हजारभन्दा बढी आम्दानी गर्दै आएकी छन्। दूधजन्य खाद्य परिकार उत्पादन हुने उहाँको उद्योगमा दैनिक दुई सय लिटर दूध खपत हुन्छ।

दुई वर्षअघि तीन लाख लगानीबाट सुरु गरेको उद्योगमा दुग्ध परिकार खुवा, छुर्पी, दही, घिउ, पनिर, चकलेट, ललिपपलगाय स्वादिला खाद्यवस्तु तयार पारिन्छ। 

आर्थिक अवस्था कमजोर भएका कारण लिम्बूका श्रीमान् लाखबहादुर नौ वर्षसम्म खाडी मुलुक पसे। खाडीमा श्रीमान्ले कमाएको पैसाले घरपरिवारको खर्च धान्न र छोराछोरी पढाउन पुगेन। “घरैमा केही गरौँ भनेर उद्योग थालेकी हुँ,” उनले भनिन्– “उद्योगबाट अपेक्षा गरेभन्दा राम्रो आम्दानी भइरहेको छ।” 

श्रीमान्ले विदेशबाट पठाएको रकम र स्थानीय सहकारीबाट ऋण लिएर उनले उद्योग सुरु गरेकी हुन्। लिम्बूले उद्योगलाई आवश्यक दूध वरपरकै किसानबाट प्रतिलिटर ४५ रुपैयाँमा खरिद गर्छिन्।

गाउँमै दूध खपत हुन थालेपछि केबुक, नेभाङ, साव्रा, भुल्के, मुसाङखेल, फुलेक, मारेकटहरे, तामाफोकलगायत गाउँमा व्यावसायिक गाईभैँसीपालन फस्टाएको छ। दूध बिक्री हुन थालेपछि दुधालु गाई र भैँसीमा किसानले लगानी बढाएका छन्। 

‘दैनिक नौ हजारको दूध किन्ने गर्छु,” लिम्बूले भनिन्। उद्योग खुलेपछि खाद्य पदार्थ पकाउन चाहिने इन्धनको प्रमुख स्रोत दाउराको समेत बिक्री बढेको छ। दाउरा बिक्री गरेर स्थानीय महिलाले आम्दानी गरिरहेका छन्।

लिम्बूले गतवर्ष एक लाख २० हजार रुपैयाँ बराबरको दाउरा खरिद गरिन्। उत्पादनले बजार पाएपछि लगानी १० लाखसम्म पुर्याएकी छन्।उद्योगमा तीन जनाले रोजगारी पाएका छन्। 

अहिले उनका श्रीमान् लाखबहादुर पनि उद्योगकै काममा लागेका छन्। “काम गर्ने जाँगर भए स्वदेशमै कमाउन सकिने रहेछ,” छुर्पी बनाउन दूध तताउँदै गरेका लाखबहादुरले भने “यहाँ विदेशमा जति दुःख गर्नै पर्दैन।”

उद्योगबाट उत्पादित वस्तु खाद्य गुणयुक्त भएकै कारण विष्णुमायालाई खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगरले पुरस्कृतसमेत गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell