PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भूकम्पबाट क्षतिग्रस्त ६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा



रासस

भूकम्पबाट क्षतिग्रस्त ६ वटा लघुजलविद्युत् आयोजना सञ्चालनमा

गोरखा : भूकम्पपछि अवरुद्ध छवटा लघुजलविद्युत् आयोजना मर्मत गरेपछि सञ्चालनमा आएका छन्। 

मुच्चोकको १५ किलोवाट क्षमताको सोताखोला आयोजना आठ लाख ५० हजार लगानीमा मर्मतपछि सञ्चालनमा आएको छ। सो आयोजनाबाट १६५ घरधुरी लाभान्वित भएका छन्। 

हंसपुरस्थित १३ किलोवाट क्षमताको अँधेरीखोला लघुजलविद्युत् आयोजना पाँच लाखको लागतमा सञ्चालनमा आएको छ। सो आयोजनाबाट ११४ घरपरिवार लाभान्वित भएका छन्।

दश किलोवाट क्षमताको लापुस्थित नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना सात लाखमा मर्मत भएपछि ८४ घरका बासिन्दाले बत्ती बाल्न पाएका छन्। 

गुम्दाको १४ किलोवाट क्षमताको सिङ्ला डिम्वाखोला जलविद्युत् आयोजना दश लाखमा मर्मतसम्भारपछि सञ्चालनमा आएको छ।

सो आयोजनाबाट १७५ घरधुरीले अँध्यारोबाट मुक्ति पाएका छन् भने ५५ किलोवाट क्षमताको मुच्चोकस्थित झ्याल्लाखोला लघुजलविद्युत् आयोजना पाँच लाख लगानीमा मर्मतपछि सञ्चालनमा आएको छ।

यहाँ ४५० घरधुरीका बासिन्दाले विद्युत् उपभोग गर्दैछन्। उहियास्थित २६ किलोवाट क्षमताको लुङ्खेतखोला लघुजलविद्युत् दश लाख लगानीमा मर्मतपछि २१८ घरधुरीमा उज्यालो पुगेको छ। भूकम्पका कारण आयोजनामा क्षति पुगेको थियो। यहाँका बासिन्दा २८ महिनादेखि अन्धकारमा थिए । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटारबाट प्राप्त ४५ लाखले छवटा जलविद्युत् आयोजनाको मर्मत गरिएको जिल्ला समन्वय समितिका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत उज्वल गिरीले जानकारी दिए।

जिससमा आएको विद्युत् रोयल्टी रकमबाट थप जलविद्युत् आयोजना मर्मतको तयारी गरिएको छ। अवरुद्ध जलविद्युत् आयोजना मर्मत गर्न एक करोड बजेट आवश्यक छ।

सौरपानीको टुनीखोला, लाप्राकको लिस्याङबुङखोला र लापुको नौलीखोला दोस्रो आयोजना मर्मत गर्न माग गर्दै निवेदन आएको छ। सिम्जुङ, घ्याच्चोक, सौरपानीलगायत गाउँका स्थानीय बासिन्दा लघुजलविद्युत् आयोजना अवरुद्ध भएपछि अन्धकारमा बस्न बाध्य छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell