काठमाडौं : लामो समयदेखि असन्तुष्ट रहँदै आएका देवेन्द्र पौडेलसहितको एक समूहले नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईलाई अमूर्त समाजवादको बाटोमा लागेको आक्षेप लगाएका छन्।
नयाँ शक्तिको शैली ठीक नभएको भन्दै पौडेलसँगै महेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारले पत्रकार सम्मेलन गरेर नेतृत्वको आलोचना गरेका हुन्।
नयाँ शक्तिको शैली अमूर्त समाजवाद, अमूर्त समृद्धि र वर्ग समन्वयवाद उन्मुख भएको भन्दै उत्पीडित, जनजाति, दलित र अल्पसंख्यकको नेतृत्व गर्न समूहले अपिलसमेत गरेको छ।
मिल्नेसँग पार्टी एकता र ध्रुविकरण गर्न समेत तयार रहेको बताउँदै नयाँ शक्तिभित्रको यो समूहले 'नयाँ शक्ति पहिचानविहीन पार्टी' भएको जनाएको छ।
उनीहरुले बाबुराम भट्टराई एकेडेमिक बहस गर्ने व्यक्तिको प्रभावमा रहेकाले त्यसबाट प्रभावित नहुनेसमेत भनेका छन्।
समूहका १५ जनाले अपिल जारी गर्दै निशर्त कुनै पनि दलमा नजाने बताएका छन्।
नयाँ शक्ति पार्टीमा संगठन विभागको जिम्मेबारी बहन गरेका भट्टराईका निकटतम नेता पौडेललाई हटाएर गंगानारायण श्रेष्ठलाई जिम्मेबारी दिएपछि उनी असन्तुष्ट रहँदै आएका थिए। आजै यो समूहले नयाँ शक्ति पार्टी परित्याग गर्ने बताइएको भए पनि त्यसबारे भने कुनै निर्णय भएन।