PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

चितवनमा एक अर्ब ५२ करोड पूँजीका उद्योग स्थापना



रासस

चितवनमा एक अर्ब ५२ करोड पूँजीका उद्योग स्थापना

चितवन : चितवनमा गत आर्थिक वर्ष २०७३/७४ मा एक हजार १२४ वटा साना उद्योग दर्ता भएका छन्। 

भरतपुर महानगरपालिका उद्योग विकास शाखा कार्यालयका अनुसार एक अर्ब ५२ करोड २९ लाख २२ हजार कुल पूँजी हुने गरी ती उद्योग स्थापना भएका हुन्। 

ती उद्योगको स्थिर पूँजी ९० करोड ३९ लाख ५९ हजार र चालु पूँजी ६१ करोड ८९ लाख ६२ हजार रहेको छ। घरेलु तथा साना उद्योग कार्यालय हाल भरतपुर महानगरपालिका उद्योग विकास शाखामा परिणत भएको हो।

कार्यालयले यसअघि जिल्लाभरिकै उद्योगको दर्ता तथा नवीकरण गर्दै आएकामा अब स्थानीय तहअनुसार छुट्टाछुट्टै रुपमा हेर्नेछ। 

कार्यालयका सूचना अधिकारी रमेशकुमार कर्माचार्यका अनुसार गत आवमा लघु उद्योग २५८, घरेलु उद्योग १९ र साना उद्योग ८४७ वटा दर्ता भएका थिए।

निजी एक हजार आठ, साझेदारी ५१, प्रालि ६५, उत्पादनमूलक २९६, कृषिमूलक ३१२, निर्माणमूलक एक, पर्यटनमूलक २०१ र सेवामूलक ३१७ वटा उद्योग दर्ता भएका थिए।

जिल्लामा हाल दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता चार अर्ब ६८ करोड ७९ लाख पाँच हजार रहेको कार्यालयले जनाएको छ । ती उद्योगमा तीन हजार ९७९ जनाले रोजगार पाएका छन्। 

गत आवमा २९० महिला उद्यमी र एक हजार ८५ जना पुरुष उद्यमी रहेका थिए। आव २०७२÷७३ मा ८३८ वटा उद्योग दर्ता भएका थिए।

तीमध्ये निजी ७६४, साझेदारी ४४, प्रालि ३० वटा रहेका थिए। सो आवमा दर्ता भएका उद्योगको कुल पूँजी ९८ करोड ४२ लाख ६७ हजार रहेको थियो।

चालु पुँजी ४१ करोड ३० लाख १९ हजार र स्थिर पूँजी ५७ करोड १२ लाख ४७ हजार रहेको थियो। सो आवमा महिला उद्यमी १७९ र पुरुष उद्योमी ७६२ रहेका थिए भने तीन हजार २४ जनाले रोजगार पाएका थिए।

कार्यालयका अनुसार सरकारले नियमित अनुगमन गर्ने र दर्ता नभएका उद्योगलाई बैंकलले ऋण नदिने भएकाले दर्ता हुनेको सङ्ख्यामा वृद्धि भएको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell