
भक्तपुर : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले तोकिएकै समयसीमाभित्र केन्द्र र प्रदेशको निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन छिटोभन्दा छिटो पारित गर्नुपर्ने बताएकी छन्।
रफत सञ्चार क्लबद्वारा भक्तपुरमा आयोजित साक्षात्कारमा कोइरालाले तराईका जनता निर्वाचन पर्खेर बसेकाले सरकार र निर्वाचन आयोगले तत्काल प्रक्रिया अघि बढाएर विधेयक र नीतिहरु पारित गर्नुपर्ने बताइन्।
‘निर्वाचनमा जीत वा हार भन्दा पनि निर्वाचन समयमै गराउनु महत्वपूर्ण कुरा हो,’ कोइरालाले भनिन्‘सबैलाई समेटेर तीनै तहको निर्वाचन सहज रुपमा सम्पन्न गर्नुपर्छ।’
उनले पछिल्लो समय भारत र नेपालबीच चिसिएको सम्बन्धलाई सुधार्न प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरिन्।
राजनीतिक दलहरुबीचको सहमति र सहकार्य मजबुत भएको अवस्थामा बाह्य शक्तिले हस्तक्षेप गर्न नसक्ने उनले बताइन्। पछिल्लो समय राप्रपामा आएको फूट अपरिपक्व राजनीतिक खेल भएको कोइरालाको टिप्पणी थियो। रासस