PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

चुडामणि शर्माको मुद्दामा आज फैसला, रिहा होलान शर्मा?



पहिलोपोस्ट

चुडामणि शर्माको मुद्दामा आज फैसला, रिहा होलान शर्मा?

काठमाडौँः आन्तरिक राजस्व विभागका निलम्वित महानिर्देशक चुडामणि शर्माको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउँदैछ। सर्वोच्चको बृहत पूर्ण इजलासले साउन २५ गते मुद्दाको निर्णय सुनाउने मिति आजका लागि तय गरेको थियो।

साउन ४ गतेको सर्वोच्चको संयुक्त इजलासको आदेश अनुसार बृहत पूर्ण इजलासले शर्माको रिहाई हुने वा नहुने टुंगो लगाउनेछ।

पूर्ण इजलासको आदेशले नै अख्तियारले कर फर्स्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा दर्ता गरेको मुद्दा अघि बढ्ने वा नबढ्ने विषयको पनि छिनोफानो गर्नेछ।

इजलासले कर फर्स्योट आयोग अर्ध–न्यायिक वा प्रशासनिक कुन निकाय रहेको पनि व्याख्या गर्नेछ। बृहत पूर्ण इजलासले कर फर्स्योट आयोगको काम कारबाही अख्तियारको क्षेत्रधिकार अन्तर्गत पर्ने वा नपर्ने विषयको पनि निर्क्योल गर्नेछ।

अदालतले कर फर्स्योट आयोगका काम कारबाही अख्तियारको क्षेत्रधिकार भित्र पर्ने निर्णय गरेमा शर्माविरुद्ध विशेष अदालतमा विचाराधीन मुद्दाको प्रक्रिया अघि बढ्नेछ। मुद्दाको प्रक्रिया अघि बढेमा शर्मा हिरासत मुक्त हुने छैनन्।

अदालतले अख्तियारको क्षेत्रधिकार भित्र कर फर्स्योट आयोग नपर्ने निर्णय सुनाएमा शर्मा न्यायिक हिरासत मुक्त हुनेछन्। यस्तै विशेष अदालतमा अख्तियारले कर फस्र्योट आयोगका पदाधिकारीविरुद्ध दायर गरेको मुद्दा पनि डिसमिस हुनेछ।

कर निर्धारणमा अनियमितता गरेको भन्दै शर्मालाई जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो। अख्तियार डेढ महिना लामो अनुसन्धानपछि साउन १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दामा आयोगका पदाधिकारीविरुद्ध १० अर्व दुई करोड बिगो दाबी गरिएको छ।

शर्मा पक्राउ परे पनि आयोग अध्यक्ष लुम्वध्वज महत र सदस्य उमेश ढकाल फरार छन्। महत र ढकाललाई उपस्थित हुन अख्तियारले सार्वजनिक सूचना जारी गरे पनि उपस्थित भएक छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell