
काठमाडौं : डाक्टर केसीको ११ औं पटकको अनसनको १९ औं दिन प्रधान मन्त्रीले डाकेको बैठकमा दुवै पक्षबीच सहमति भएपछि चिकित्सा शिक्षा विधेयक पारित गर्ने र डाक्टर केसीले अनसन तोड्ने सहमति निर्माण भएको छ। चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्न नहुने र गर्नैपर्ने भन्दै पक्ष-विपक्ष बनेका प्राध्यापक डाक्टर गोविन्द केसी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचको असमझदारीका कारण विधेयक पारित भएको छैन भने डाक्टर केसीले सुरु गरेको अनसन १९ औं दिनमा पुगेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज डाकेको बैठकमा संसद्को महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समिति सभापति समेत रहेकी एमाले सांसद् रञ्जुकुमारी झा र डाक्टर केसी पक्षका डाक्टर वाइपी सिंहसहित चिकित्सा शिक्षा ऐनका लागि सिफारिस गर्ने कार्यदलका संयोजक त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर केदारभक्त माथेमासहित शिक्षा मन्त्री स्वास्थ्य मन्त्री र पूर्व स्वास्थ्य मन्त्री समेतलाई राखेर निर्देशन दिए।
लामो छलफलपछि प्रधानमन्त्रीले दुवै पक्षलाई विन–विन हुनेगरी प्रस्ताव राखे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आसयपत्र पाइसकेका मेडिकल कलेजले संचालन अनुमति पाउनुपर्ने भन्दै अडान राखेका कारण विधेयक संशोधन हुन लागेपछि केसी अनसन बसेका थिए।
मापदण्ड पूरा नगरी मेडिकल कलेज संचालन अनुमति दिन नहुने र उपत्यकाभित्रको आवस्यकताभन्दा माथि मेडिकल कलेज भइसकेकाले उपत्यका बाहिर मात्र खोल्ने व्यवस्था गर्नुपर्ने माग लामो समय देखि डाक्टर केसीले उठाउँदै आएका छन्। तर, एमाले नेताहरुले सहकारी मार्फत् मनमोहन मेडिकल कलेज संचालनका लागि आसयपत्र लिइसकेको भन्दै त्यसले अनुमति पाउनुपर्ने अडान लिँदै आएको छ।
डाक्टर केसी र एमाले दुवैले अडान नछाडेपछि प्रधान मन्त्री बीचको बाटो निकालेका हुन्।
'चिकित्सा शिक्षा विधेयकको प्रस्तावनामा माथेमा कार्यदलको सिफारिस भनेर उल्लेख गर्ने, आसय-पत्र लिइसकेका मेडिकल कलेजलाई पनि आवश्यक मापदण्ड पूरा गरेपछि मात्र संचालनको अनुमति दिने र दश वर्षसम्म उपत्यकामा मेडिकल कलेज संचालनका लागि नयाँ अनुमति नदिने कुरा चिकित्सा शिक्षा ऐनमा उल्लेख गर्ने' सहमति भएको छ।
तयारी अनुसार काम भएमा आजै संसद्को महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति नेतृत्वको कार्यदलले टुंग्याउने छ भने प्रधान मन्त्री आफै उपस्थित भएर डाक्टर केसीको अनसन तोडाउने तयारीमा छन्।