PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राधाकृष्ण रथयात्राको उद्घाटन गर्न राष्ट्रपति विराटनगर जाने



अनन्तराज न्यौपाने

राधाकृष्ण रथयात्राको उद्घाटन गर्न राष्ट्रपति विराटनगर जाने
फाइल फोटो 

विराटनगरः विराटनगरको ऐतिहासिक र प्रसिद्ध भनिने श्रीराधाकृष्ण रथयात्राको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउने भएकी छन्।

रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले साउन ३१ गते हुने रथयात्राको उद्घाटन गर्न राष्ट्रपति आउने निश्चित भएको जानकारी दिएका हुन्।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा श्रीराधाकृष्ण भगवान्को मूर्ति सिँगारिएको रथलाई विराटनगरको परिक्रमा गराउने प्रचलन छ। 

रथयात्रा सुरु भएको ५० वर्ष पुगेको हुँदा यसपटक स्वर्ण महोत्सवका रूपमा मनाउन लागिएको र यसै अवसरमा राष्ट्रपतिलाई निमन्त्रणा गरिएको अध्यक्ष ओझाले बताए।

साउन ३१ गते दिउसो राष्ट्रपति भण्डारी राधाकृष्ण मन्दिरमा आइपुग्ने र त्यहाँ निर्माण गरिएको मञ्चमा २० मिनेटको सामान्य कार्यक्रम गर्ने बताइएको छ। 

विराटनगरको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा विराटनगर नगर क्षेत्रको ७ किलोमिटरको परिक्रमा गरेर सोही मन्दिरमा टुङ्ग्याउने गरिन्छ । 

यसपटक नगरका विभिन्न ४३ स्थानमा केही क्षणका लागि रथलाई विश्रामका लागि रोकिनेछ।अध्यक्ष बाबुराजाले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताए।

नेपाल र भारतका गरी ५ लाख भक्तजनको सहभागिता रहने दाबी गरिएको रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिनेछ।

विराटनगरमा २०२५ सालदेखि रथयात्रा गरिँदै आएको छ । यसअघि १९८८ देखि २०२४ सालसम्म काठको सानो खाटमा श्रीराधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराइन्थ्यो।

यसवर्ष प्रयोग गरिने रथ सुनौलो रङमा र पेगोडा शैलीमा तयार गरिएको छ। यसको लम्बाई १२, चौडाइ १४, र उचाइ १८ फिट रहने ओझाले बताए । रथमा टाँगिएको ७५ मिटर लामो डोरी समातेर भक्तजनले नै रथलाई गुडाउने परम्परा छ।

रथयात्रा सम्पन्न गर्न विभिन्न २० वटा उपसमिति गठन गरिएको छ। रथयात्राको उद्घाटनपछि राष्ट्रपति भण्डारीले महेन्द्र मोरङ क्याम्पसमा शैक्षिक अवलोकन गर्ने कार्यक्रम छ। राष्ट्रपतिले महेन्द्र मोरङ क्याम्पसमा अध्ययन तथा राजनीति गरेकी हुन् ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell