काठमाडौः बैदेशिक रोजगारीमा जान लागेका युवासँग बढी रकम असुल गरेको अभियोगमा बैदेशिक रोजगार विभागले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको गैरीधारास्थित बाइट इन्टरनेश्नल म्यानपावरका लेखापाल अम्विका प्रधानलाई १ लाख ११ हजार रुपैयाँ लिइरहेको अवस्थामा पक्राउ गरेकाे विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए।
नियम विपरित बढी पैसा लिएर मलेसिया पठाउन लागेको भन्दै विभागमा उजुरी परेपछि विभागले गरेको अनुगमनको क्रममा प्रधान पक्राउ परेका छन्।
म्यानपावरका संचालक राम श्रेष्ठ भने फरार रहेका छन्। सरकारले फ्री भिसा फ्रि टिकटको व्यवस्था गरेपछि बैदेशिक रोजगारमा जानेसँग १० हजार रुपैयाँ भन्दा बढी रुपैयाँ लिन पाइदैन।
तर अहिले अधिकांश म्यानपावरले ७० हजार देखि १ लाख ५० हजार रुपैयाँसम्म लिने गरेका छन्। विभागका प्रवक्ता अधिकारी भने कसैले आफूले बढी रकम तिर्न लागेको उजुरी दिए तत्काल कारबाही गर्ने बताउँछन्।
प्रवक्ता अधिकारी भन्छन्,‘हामी कहाँ बढी पैसा तिर्दैछु भनेर उजुरी नै आउँदैनन्, विदेश पुगेर फर्किएपछि मात्र यति रकम तिरेको भन्छन्।’