PahiloPost

Jun 24, 2025 | १० असार २०८२

पारस र मेहबुब रहेको टिम १६६ रनले पराजित



पहिलोपोस्ट

पारस र मेहबुब रहेको टिम १६६ रनले पराजित
फोटो : एससीसीको फेसबुकबाट

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र मेहबुब आलम रहेको सिंगापुर इमर्जिङ स्टार्स आजबाट सुरु भएको पाँचौ एसीसी टी-२० टुनामेन्टमा फराकिलो रन अन्तरले पराजित भएका छन्।

वर्षाले प्रभावित खेलमा सिंगापुर इमर्जिङ स्टार्स श्रीलंकन राष्ट्रिय खेलाडीहरु सम्मिलत सिंघालेस स्पोर्टस् क्लबसँग डिलएल मेथडका आधारमा १६६ रनले पराजित भएको हो।

खेलको पहिलो विकेट नै मेहबुब आलमले लिएका थिए भने पारस खड्काले एक खेलाडीलाई कट एण्ड बोल्ड गरेका थिए।

१९३ रनको उच्च लक्ष्य पछ्याउदै ब्याटिङ गरेको सिंगापुर स्टार्सले ५.४ ओभरमा २ विकेट गुमाएर २६ रन बनाउदा पानी परेपछि खेल बिथोलिएको थियो र श्रीलंकन क्लब फराकिलो रन अन्तरले विजयी भयो।

सिंगापुरको पदाङ क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको सिंघालेसले १७ ओभरमा ४ विकेट गुमाउदै १९२ रन बनाएको थियो। उसका लागि पाँचौ नम्वरमा ब्याटिङ गरेका दसुन शनाकाले २७ बलमा आक्रमक पारी खेल्दै नटआउट ७९ रन बनाए। जसमा ५ चौका र ८ छक्का सामेल थियो। यस्तै मिनोद बानुकाले ५० तथा कप्तान सचित्रा सेनानायकेले ३८ रन जोडे।

नेपाली खेलाडी रहेको सिंगापुरका लागि मेहबुले २ तथा पारस खड्का र आइपिएल खेलेका अखिल बालाचन्द्रले १-१ विकेट लिए।

१९३ रनको उच्च लक्ष्य पछ्याउने क्रममा मेहबुबले चमिन्दा रुवानसँगै ओपनिङ गरेका थिए। तर मेहबुब ४ रन बनाएर आउट भए। मेहबुबलाई आउट गरेका सेनानायकेले अर्का ओपनर रुवानलाई पनि आउट गरेपछि सिंगापुर इमर्जिङ सुरुमै धर्मराएको थियो। सुरेन्द्रन चन्द्रमोहन ६ र अर्जुन मुत्रेजा ३ रनमा खेलिरहेका बेला पानी परेपछि खेलको नतिजा डिएलमेथडबाट लिइएको छ।

फोटो : http://www.connectedtoindia.com

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सिंगापुर इमर्जिङ स्टार्स र सिंईलेस स्पोर्टस् क्लबसँगै हङकङको क्वोलुन क्रिकेट क्लब र अष्ट्रेलियाको मेलवर्न क्रिकेट क्लब समूह बी मा छन्। यस्तै साविक विजेता भारतको मद्रास क्रिकेट क्लब, आयोजक सिंगापुर क्रिकेट क्लब, अष्ट्रेलियाको एससीजी र दक्षिण अफ्रिकाको रोवलिन नेशनल क्रिकेट एकेडेमी समूह बी मा छ।

पारस र मेहबुब रहेको सिंगापुर इमर्जिङले भोली शनिबार समूह चरणका बाँकी दुई खेल खेल्नेछन्। समूह बी अन्तर्गत आजै भएको खेलमा मेलवर्नले क्वोलन क्रिकेट क्लबलाई ८ विकेट पराजित गरेको छ।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

सिंगापुर क्रिकेट क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर हात पार्नेछ भने उपविजेताले २ हजार अमेरिकी डलर प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell