PahiloPost

Jun 24, 2025 | १० असार २०८२

३४ करोड लागतमा हिटिङ पुलको सिलान्यास, २०१९ सम्म बनाउने लक्ष्य



पहिलोपोस्ट

३४ करोड लागतमा हिटिङ पुलको सिलान्यास, २०१९ सम्म बनाउने लक्ष्य

काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणमा रहेको खाली ठाउँमा निर्माण गर्न लागिएको हिटिङ पुलको मन्त्री केसीले सिलान्यास गरेका हुन्।

दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौडाइको हुनेछ। ३३ करोड ५४ लाख ६३ हजार ९ सय १३ रुपैयाँ लागत अनुमान गरिएको पुल हातामा तीन वटा मुख्य ब्लक रहनेछन्। त्यसमा कार्यालय, खेलाडी र पुल ब्लक रहनेछ।

कार्यालय ब्लकमा १ सय दर्शक क्षमताको प्यारापिट र कार्यालय कोठा तथा खेलाडी ब्लकमा जिम हल, क्याफ्टेरिया र खेलाडीको च्यान्जिङ कक्ष बनाइनेछ। त्यस्तै पुल ब्लकमा पुल, ब्लान्सिङ ट्याङ्गलगायत निर्माण गरिने छ।

मन्त्री केसीले हाम्रो जस्तो बजेटको आकार सानो भएको मुलुकले करिब ३४ करोड लगानीमा पुल निर्माण गर्नु ठूलो कुरा भएको बताउँदै पुलको गुणस्तर र समयसीमामा निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले पुन निर्माणको कार्य प्रगति बारे समय–समयमा मन्त्रालयलाई जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पौडी संघलाई निर्देशन दिए।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले पुल निर्माणका लागि राखेपले सरकार मार्फत ८० र पौडी संघले २० प्रतिशत रकम खर्च गर्ने संघसँग सम्झौता भएको बताउँदै संघको २५-३० वर्षदेखिको अभियानले गति लिन थालेको धारणा व्यक्त गरे। उनले २०१९ को फेब्रुअरीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अवगत गराए।

उनले पूर्वाधारका कारण दक्षिण एसियाली खेलकुद नरोकिने बताउदै अन्य पूर्वाधारहरु पूरा हुने क्रममा र केहि बन्ने क्रममा रहेको बताए। ‘अरु कारणले रोकियो भने थाहा भएन। तर पूर्वाधारकै कारणले साग रोकिन्न। रंगाशालालाई मात्र देखाएर केहि भाको छैन भन्न मिल्दै।’ सदस्य–सचिव विष्टले भने– ‘कराते र तेक्वान्दो हल निर्माण पूरा हुने क्रममा छन्। सागलाई नै लक्षित गरेर अउडिटोरेयिम, मिडिया सेन्टरलगायतका पूर्वाधार बन्ने क्रममा छन्। रंगशालाको मर्मत सम्भार पनि चाँडै पूरा गर्नेछौं।

सदस्य–सचिव विष्टले नवनियुक्त मन्त्रीज्यूमा खेलकुद स्पिरिट उच्च भएकाले उहाँकै कार्याकालमा निर्माण कार्यले तीव्रता पाउने विश्वास व्यक्त गरे।

पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले हिटिङ पुलको निर्माणले खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न पाउने भएकाले खेलाडीको स्तरवृद्धिमा अझ सहयोग पुग्न धारणा व्यक्त गरे। उनले अन्तर्राष्ट्रिय निकायबाट पनि २५ बाई २५ मिटरको पुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सकिने आश्वासन प्राप्त भएको जानकारी गराउदै पौडी संघको वर्षौंदेखिको सपना साकार हुन लागेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell